काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार तीन गते बुधबारदेखि साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँट गरेपश्चात्, दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले आठ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र एक लाख ७२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यसैगरी कम्पनीले ३४ हजार चार सय कित्ता सेयर कर्मचारीहरूका लागि र ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको १४ लाख २७ हजार छ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार साधारण सेयर को बिक्री कार्य छिटोमा यही असार आठ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।