साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृतिको कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि बरदान सावित हुन सक्छ । अहिले पनि झन्डै ६५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा भएका युवाहरूले पठाएको रेमिट्यान्सले अर्थ तन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भइसकेको छ । वैदेशिक रोजगारमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिको लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताको लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय आर्यजनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । रोजगारको लागि भौतारिने भन्दा पनि रोजगार दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको स्वरोजगारमुखी शिक्षा नीति हुनु पर्दछ । प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई)बाट करिब पाँच लाख परीक्षार्थी उत्तीर्ण भएका हुन्छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राको लागि मुख्यतया प्राविधिक र साधारण शिक्षा मध्ये छनौट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन अनुसन्धान तहसम्मको लागि साधारण शिक्षा रोज्नु स्वभाविकै हो ।
हाम्रो शिक्षा गरिखाने भन्दा पनि मागिखाने जनशक्ति उत्पादन तिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारका लागि भौतारिने भन्दा पनि रोजगार सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षा जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्दछ । तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृतिको कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवाहरूको भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ ।
आफ्नो योग्यता क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्दछ । एसईई पार गरेका परीक्षार्थीको लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसईई परीक्षा उत्तीर्ण टीएसईई र डिप्लोमा गरी करिब ४५ हजारभन्दा बढीले सीटीईभीटीअन्तर्गत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्थामार्फत प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ ।
सीटीईभीटीअन्तर्गतका ३ सय ३१ संस्थाहरूबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरेको छ । त्यस्तै २ सय ८० सम्बन्धन प्राप्त निजी संस्थाहरूले पनि विभिन्न प्राविधिक कोर्सहरू संचालन गरिएता पनि पर्याप्त देखिएको छैन । हाम्रो जस्तो भौगोलिक विकटता र सामाजिक आर्थिक विभिन्नता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुंचको सुनिश्चितताको लागि सरकारले विशेष ध्यान दिन विलम्ब भइसकेको छ । विगत वर्षहरूमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाकोरुपमा चित्रित भएका थिए । तर पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकारात्मक नीति राज्यले लिएको पाइन्छ ।
दिन प्रतिदिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि विदेशिनु देशको लागि कदापि शुभ संकेत होइन । रोजगारीको लागि नेपाली युवाहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धित विनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिएर हिँडेजस्तै मृगतृष्णाको रुपमा आफ्नै देशमा उपलब्ध पेसा अंगाल्न हिच्किचाउँदै हजारांै, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ । तर गर्वकासाथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ? त्यो भन्दा तल्लो स्तरको काम गर्न मुङ्गलाननै पस्नुपर्ने किन? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला? आफ्नो देशमा रोजगारी नपाएमा चारैतीर अभावै अभावबाट छटपटिई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुदैन ।
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशिल जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्तांकको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुझने तर ड्याड ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदिको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिक भन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्वन गरिनु पर्दछ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतःदैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाण पत्रको प्राप्तांक भन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरिय शिक्षा परिभाषित हुनुपर्दछ ।
हाम्रो मूल्यांकन पद्दति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि एकसय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्दतिलाई पुनरावलोकन गरिनुपर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णांक प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उतीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनिहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साही, उर्जाशील सफल नागरिक बनाउने खालको व्यवहारिक पौरिख शिक्षा आजको आवश्यकता हो । श्रमप्रति सम्मान गर्ने दक्ष जनशक्ति उत्पादन गर्न सरकार र सरोकार पक्षको प्राथमिकतामा पर्नुपर्छ प्राविधिक शिक्षा ।