सरसर्ती हेर्दा सुखको लागि हरेक दिन मानिस भौतारिन्छ, संघर्ष गर्छ, अगाडि बढ्छ, पछाडि धकेलिन्छ, लड्छ, उठ्छ, फेरि अगाडि बढ्ने कोसिस गर्छ। कोही यसमा सफल हुन्छन् कोही असफल हुन्छन्। असफल हुने त यसै निराश हुने नै भयो तर सफल हुने पनि केही दिन केही क्षण सुखी देखिन्छ, फेरि सधैँको लागि सुखी हुँदैन। फेरि उही धुली, उही मैदान, फेरि अझै अगाडि बढ्ने कोसिस गर्छ, फेरि माथि उठ्न पनि सक्छ भने कहिले काहीँ नराम्रोसँग पछारिन पनि सक्छ।
मानिसले अहिलेसम्म नबुझेको वा बुझ्नै नचाहेको कुरा चाहिँ ऊ आफूले आफूलाई जहिले जवान सम्झिन्छ, बुढो हुनु पर्दैन भन्ठान्छ, बाटोको फूललाई पनि काँडा सम्झिन्छ र काँडालाई त अवश्य पन्छाएर नै हिँड्छ। आफू अगाडि बढ्ने होडबाजीमा अरूलाई लत्याउँछ। पछार्न खोज्छ, सके कुल्चिएर अगाडि बढ्छ नत्र कुनै न कुनै जुक्ति लगाउँछ लगाउँछ।
यो संसार अनेक किसिमको मानवले बनेको एक झुन्डा हो। यहाँ माया छ, यहाँ कोमल हृदय छ, यहाँ हेपाहापन छ, यहाँ मिचाहापन छ, यहाँ जोश जाँगर छ, यहाँ उत्साह छ, यहाँ भद्भैलो छ, यहाँ रिस द्वेष ईष्र्या छ, यहाँ स्वच्छ प्रतिस्पर्धा छ, यहाँ अस्वस्थ प्रतिस्पर्धा पनि छ, यहाँ उमंग छ उत्साह छ, यहाँ वैरभाव छ, यहाँ चेतना छ अनि अचेतन मन छ, यहाँ भोग छ, यहाँ सोख छ, यहाँ शिक्षा अशिक्षा दुवै छन्, कोही पढेका मूर्ख छन् कोही जानेर मूर्ख छन् कोही नजानी मूर्ख छन्, तर यहाँ विद्वताको पनि कमी छैन। विद्वताको त महासागर नै छ। यहाँ सीमा छ, बन्धेज छ, यहाँ अरूको जस्तो हुनुपर्छ भन्ने स्वार्थ र प्रतिस्पर्धा छ, हुन त स्वार्थ र प्रतिस्पर्धा भएन भने मानिसमा न त जीत हार हुन्छ न त प्रगति नै हुन्छ। ऊ भन्दा ऊ राम्रो, ऊ भन्दा ऊ ठुलो भन्ने होडबाजी पनि चढ्दै छ। संसार चलेकै यसैगरी छ।
लाखौँवर्ष यसैगरी चल्यो अब पनि चल्दै जाला सायद। तर यो शरीर नआफ्नो बसमा छ न त मसँग भएका वस्तु मेरो बसमा छन्। न त मेरा आफ्नो भनेका सामान धन सम्पत्ति मेरो बसमा छ। म आफैँ कुदिरहेको छु, ऊ त्यसैगरी कुदिरहेको छ। नकुदे त सायद संसार टक्क अडिन्थ्यो र न आज यो संसार यस्तो हुन्थ्यो नत प्रगति, नत आविष्कार, अनुसन्धान र विकास नै हुन्थ्यो। शरीर केही छैन, एक जनाले भन्नु भयो कि मलाई एक दिन यस्तो पीडा भयो मेरो शरीरमा, बरु म मर्न पाए खुसी हुन्थेँ यो पीडा मलाई सहन नपरोस्। हो मानिसको जीवनमा कहिले काहीँ बाँच्दा भन्दा मर्दा सुख हुन्थ्यो भन्ने पनि छन् तर जसको भाग भोग जति छ यो संसारमा रहनै पर्दछ।
अब कुरा गरौँ मानिसको सुखको मापनको किनकि जे गरे पनि अन्ततोगत्वा मानिस सुखी हुनलाई नै गरेको हुन्छ। सबै खुसीमा सुख हुन्छ तर सबै सुखमा खुसी नहुन सक्छ मानिस। सुख भनेको चाहना पूरा हुनु हो भने खुसी सबै चाहना पूरा हुँदैमा पनि नहुन सक्छ। सायद खुसी एकजना भोको मानिसले अन्न पाएमा हुन्छ होला, ऊ दुःखी जबसम्म हुन्छ तबसम्म उसले भोजन पाउँदैन। उस्तै कुरा पाउँदा एक जना मानिस सारै सुखी हुन सक्छ भने, सोही कुरा पाउँदा अर्को मानिसलाई खासै खुसीको अनुभव नहुन सक्छ, उसलाई त्यही कुरा सामान्य लाग्न सक्छ। जाडोमा लुगा पाउँदा खुसी कसैलाई, कसैलाई भरिभराउ छ, कसैलाई पढ्न पाउँदा खुसी त कसैलाई पढ्न पर्दा दुःखी, कसैलाई आफन्त भए खुसी कसैलाई त्यही आफन्त हुँदा दुःखी। पहाड चढे हिमाल चढ्ने रहर, अनि हिमाल चढे तराई झर्ने रहर, यसैगरी जिन्दगी चलिरहेको छ।
विद्यार्थी कालमा पढ्दा, राम्रो अंक ल्याएमा खुसी, आफूलाई गर्न मन लागेको कुरा गर्न पाउँदा खुसी, कसैलाई किताब पढ्दा खुसी त कसैलाई घुम्दा खुसी, राम्रो लाउँदा चाहेको कुरा खान पाउँदा खुसी अनि जवानी मा राम्रो हुँदा खुसी, मन परेको मान्छेसँग हिँड्न पाउँदा खुसी, चाहेको काम पाउँदा खुसी वा व्यवसाय मा अगाडि बढाउन पाउँदा खुसी अनि बुढाबुढी अवस्था मा चाहिँ अगाडि पछाडि आफ्नै मान्छेले सेवा गरे खुसी, अनि आफन्तकै अगाडि बस्न पाउँदा खुसी। त्यसैले सधैँ भरी त्यही कुरा ले खुसी नहुन सक्छ, बालापनको खुसी अर्कै हुन्छ, आमा–बाबाको काखमा लुटुपुटु हुँदाको खुसी नै अर्कै हुन्छ भने यौवनमा आफूले मन पराएको मान्छे सँग हिँड्न, बोल्न र उसैलाई आफ्नो जीवन साथी बनाउन पाउँदा खुसी हुन्छन्। यो जिन्दगीमा कसैलाई के हुँदा खुसी हुन्छ त अर्कोलाई त्यसैमा दुःख लागिरहेको हुन्छ। सबैलाई आफू बन्ने रहर, कसैलाई के बन्ने रहर, कसैलाई देश प्यारो, कसैलाई विदेश प्यारो, कसैको चाहना कस्तो कसैको चाहना कस्तो, कोही ज्ञानी, कोही विज्ञानी, कोही मूर्ख कोही धूर्त। कसैलाई यही मूर्खतामै खुसी छ भने कसैलाई धूर्ततामै खुसी छ। कोही मानिस आफू हारेर अरूलाई जिताउँछन् त कोही मानिस आफू मरेर अरूलाई बचाउँछन्। कसैलाई प्रकृति बचाउँदा खुसी त कसैलाई विनाश हुँदा खुसी। किसानलाई बाली भित्र्याउँदा खुसी, विद्यार्थीलाई परीक्षा उत्तीर्ण हुँदा खुसी, काम गर्नेलाई काम सकाउँदा खुसी, बटुवालाई गन्तव्यमा पुग्दा खुसी। तर यी सबै चलिरहने पेशागत खुसी हुन् र यी सबै क्षणिक सुख मात्र हुन्।
अब यहाँ सुख र खुसीको कुरा आउँछ। मानिस आनन्दसँग बस्दा नि सुखी हुँदैन, न त भारी बोकेर हिँड्दा सुखी हुन्छ तर खुसी जुन बेला हुन्छ उसको त्यो भारी बोकाइले उसको आवश्यकता पूरा गरेको बेला। समष्टिमा भन्नुपर्दा सुख जताततै छ, खुसी यत्र तत्र छरिरहेको छ। मानिस खुसी हुन जान्नु पर्ने रहेछ। दुःखको कारण आफैँभित्र रहेछ। कर्म सधैँ गर्दै जानुपर्ने रहेछ, कर्म गर्दै जाँदा फलको आश गर्न नहुने रहेछ, संसारमा जे जस्ता किसिमका मानिस भए पनि आफू र आफ्नो व्यवहार सही हुनु पर्ने रहेछ। अर्कोले जे सुकै गरोस्, जे सुकै भनून्, खाली अगाडि बढ्ने कोसिस गर्नुपर्ने रहेछ, तर अगाडि बढ्दा एउटा मानव धर्म हुन्छ त्यसमा भने कसैलाई ठेस पुर्याउनु नहुने रहेछ। आफ्नो मात्र दुनो सोझ्याइ काम गर्ने बानी परेमा अरू मरून् वा बाँचून् वास्ता नहुने र नगरेमा त्यसको फल आफैँ भोग्नु पर्ने रहेछ। हरेक काम गर्दा अनुशासित, भद्र र नियम संगत गर्नु पर्ने रहेछ, आज कसैलाई धोका दिएमा त्यो अवश्य पनि आफैतिर फर्कने रहेछ। अधर्मी काम कहिल्यै गर्न नहुने रहेछ। सके सेवा भावले काम गर्ने नसके अरूलाई असर पर्ने काम नगरेमा जीवन खुसी र सुखी हुने रहेछ। खुसी हुन सिकेमा मानिस सुखी आफसेआफ हुने रहेछ। खुसीलाई स्थायित्व बनाउन मनभित्रको अनाहत चक्रलाई जगाइ आफूभित्रैबाट खुसी ल्याउने बचा गरौँ।
बदनामले दुःख निम्त्याउँछ, सम्मानले खुसी ल्याउँछ, कर्मले सम्मान पाउनु पर्दछ, सुखी र सम्मानित जीवनका लागि व्यक्तिले आफ्नो आचरणमा शुद्धता ल्याइ दैनिक अनुशासित भएर कर्म गर्नुपर्छ तथा मन, वचन र शरीरलाई पवित्र राख्नुपर्छ। स्वविचारलाई सकारात्मक र उच्च बनाउँदै नैतिकवान भई असल कर्मको मार्गमा निरन्तर अघि बढ्नुपर्छ। शिक्षाको ज्योति फैलाएर समाजलाई सकारात्मक दिशातर्फ परिवर्तन गर्ने प्रयास गर्नुपर्छ भने कर्मथलोमा ऊर्जावान, जिम्मेवार र इमानदार भएर काम गर्नुपर्छ। लेनदेनमा स्पष्टता राख्ने, नराम्रो बोलीवचनद्वारा कसैलाई जानाजानी चोट नपुर्याउने तथा आफ्नो शरीरप्रति माया राख्दै आहारविहारमा अनुशासन अपनाउने व्यक्तिले जीवनमा सम्मान, सन्तुष्टि, खुसी र सुख प्राप्त गर्न सक्छ।
हो, असल कर्म गर्दै जानु, नैतिकवान बन्नु र राम्रो व्यवहार अपनाउनु मात्रले जीवनमा सफलता, सम्मान वा सुखको पूर्ण सुनिश्चितता दिन सक्दैन, किनकि जीवनमा परिस्थिति, अवसर, भाग्य र सामाजिक अवस्थाजस्ता अन्य धेरै पक्षहरूको पनि प्रभाव रहन्छ। तथापि, आम मानिसले असल बन्ने प्रयास गर्नु, सदाचारपूर्ण व्यवहार गर्नु र सकारात्मक सोच राख्नुले मनमा शान्ति, आत्मसन्तुष्टि र खुसीको अनुभूति दिलाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यी सफल, सम्मानित र अर्थपूर्ण जीवनतर्फ लैजाने सकारात्मक मूल्य र व्यवहारहरू हुन्। जीवनका सबै परिणामहरू यिनले मात्र निर्धारण नगरे पनि यस्ता गुण र आचरणहरूले धेरै हदसम्म सुख, सन्तुष्टि र सामाजिक सम्मान प्राप्त गर्न सहयोग पुर्याउँछन्।
मानिसले जहिले चाहेको त कहिले नहुन सक्छ तर विचार शुद्ध भएमा शरीर शुद्ध हुन्छ, र शरीर शुद्ध भएमा गरेको कार्य मा शुद्धता आउँछ, मधुर बोली हुन्छ। आफू बचौँ र अरू पनि बचून् भन्ने धारणा हुन्छ। तर यहाँ मानिस खुसी र शान्ति तथा आशीर्वाद पाउन मन्दिर जान्छन्, भगवानको अगाडि ठेलमठेल गर्छन्। अरूलाई लत्याउँछन्, आफू अघि बढ्न कोसिस गर्छन्। तर यो मूर्खताको अन्तगरी सँगसँगै यो समाज मा अरू पनि बाँच्नुपर्छ, म सँगसँगै अरू पनि हाँस्न पाउनु पर्छ भन्ने सोच राखेमा अन्ततोगत्वा मानिस खुसी अनि सुखी हुन्छ नत्र मानिस लाई जे भए पनि दुःखी हुन्छ ।
अब आकाशलाई हेर अनि खुसी होऊ, डाँडा पहाड हिमाल जे जस्तो ठाउँ मा छौ त्यो हेर सुखी होऊ, कामलाई हेर, काम गर त्यसमा सुखी होऊ, आजसम्म तिमी यो संसारमा छौ त्यसमा सुखी होऊ, आफूले गरेको कर्म मा सुखी होऊ। अरूलाई नदाज, तर कर्तव्य गर, सोच राख आकाश छुने, शिखर चढ्ने, तिमी जे छौ जस्तो अवस्थामा छौ त्यसमा खुसी बन, जे पायौ पायौ, जे गुमायौ गुमायौ, मन सङ्लो बनाऊ, नाच, हाँस, खेल, कमाऊ, जे जस्तो छ त्यसमा रमाऊ खुसी आफैँ आउँछ र तिमी यसैमा सुखी पनि हुन्छौ। नचाहिने खिचडी मनमा नपकाऊ, मनलाई सङ्लो पार, वचन सङ्लो पार, कर्मलाई सङ्लो पार। बस आजसम्म त गर्यौ तर आजसम्म जियौ अब भोलिको के पीर, न भोलि तिम्रो हातमा छ न मेरो, बस जीवनको डुङ्गा चलाउन नाउ खियाऊ, नछोड कहिल्यै तर खियाउनु मा सन्तुष्ट बन, असन्तुष्टिले अशुभ ल्याउँछ, सन्तुष्टिले सम्पन्नता ल्याउँछ। तिमी लाग, दौडिने कोसिस गर, हार नमान, पाएकोलाई धन्यवाद भन, नपाएकोलाई पाउने कोसिस गर तर हार नमान, लड्यौ भने उठ, तर ईष्र्या गरेर होइन प्रतिस्पर्धा गरेर, तिमी आफैँ बाट आफ्नो खुसी खोज, अरूले दिएको खुसी त सापटी हो लिन सक्छ फेरि, आफू भित्रको ऊर्जालाई जगाऊ, आफू भित्र–भित्र खुसी बन, सुख तिमी सँगै छ, खुसीको बीज रोपी पीडा रूपी राक्षसलाई दमन गर ।