धेरै कोणबाट चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका पछिल्ला दिन प्रधानमन्त्री र उनकी पत्नीका कारण पनि धेरै चर्चित भयो । त्यो चर्चा अहिले पनि जारी छ र पछिसम्म पनि कायम रहने देखिएको छ जो पहिलेकाहरूले यस्तै काम गर्दा अहिलेसम्म नै चर्चित भइरहेका छन ।
यो महहमाधिवेशनमा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र साह १० असारमा काठमाडौं फर्किए । उनी पत्नी सविना काफ्ले र छोरीसहित थिए । जहाँ यही यात्राका क्रममा खिचिएको सपरिवारको एउटा तस्बिरले चर्चा गराएको हो ।
यो तस्बिरमा देखिने दृश्यमा विमान चढ्न जाँदै गर्दा प्रधानमन्त्रीले छोरी बोकेका छन् भने श्रीमतीले हातमा मोबाइल । अर्को हात खाली नै छ । सामान्यतया कुनै पनि महिलाले आफ्नो हातेझोला आफैँले बोकेका हुन्छन् ती जतिसुकै भीभीआईपी किन नहुन् ?
तर यहाँ भने पीएसओका हातमा झोला छ । याद रहोस्, पीएसओका हातमा आफ्नो झोला हुँदैन । त्यस कारण यो बोक्न लगाइएको नै मानिएको हुनुपर्छ ।
तर सुरक्षाकर्मीलाई झोला बोकाएको भनेर सार्वजनिक भएको तस्बिरका बारे प्रधानमन्त्री पत्नी सविनाले भने त्यो झोला उसैको अर्थात् पीएसओकै हो भनेर स्पष्टीकरण दिइन् । अहिले यो स्पष्टीकरण पनि झन् थप प्रश्न खडा गर्ने खालको देखियो ।
चितवनबाट काठमाडौँ फर्किने क्रममा एअरपोर्टमा खिचिएको र सामाजिक सञ्जालमा भाइरल भएको सुरक्षाकर्मीले लेडिज झोला बोकेको तस्बिर आफैँ पनि अचम्मलाग्दै थियो । भीभीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मीले झोला बोक्दैनन्, बोकाइएको हो भन्ने विज्ञको भनाइ आएका हुनुपर्छ, जसलाई प्रधानमन्त्रीपत्नीले सजिलैसँग उसकै हो भनिदिइन् र तस्बिर देखाउनेलाई गाली गरिन् । उनका भनाइमा यो आफ्नो नियोजित चरित्रहत्याको प्रयास भएको हो ।
यता जानकारहरूचाहिँ भीभीआईपी ड्युटीमा खटिएका सुरक्षाकर्मीले सुरक्षा सामाग्रीबाहेक अन्य कुनै पनि वस्तु बोक्न मिल्दैन पाइँदैन । विज्ञका भनाइमा कुनै पनि भीभीआईपीको कोर घेरामा रहने सुरक्षाकर्मीले आफ्नो व्यक्तिगत झोला या अन्य गैरसुरक्षा सामग्री बोकेर सँगै हिँड्दैन । उनीहरूले पहिले नै आफ्नो सामान गाडीमा राखिसकेका हुन्छन्, यदि त्यो नभए पनि आफ्नो अर्को साथीको सहयोग लिन्छन् ।
भीभीआईपी सुरक्षाको जानकारी राख्ने वहालवाला एक सांसदले भनेका छन्, ‘नेपालको भीभीआईपी सुरक्षाको सिद्धान्त र तालिमदेखि अमेरिकी राष्ट्रपतिको सुरक्षासम्मको सामान्य जानकारी राख्दछु । केही तालिम पनि लिएको छु, कुनै पनि भीभीआईपीको कोर घेरामा रहने सुरक्षाकर्मीले आफ्नो व्यक्तिगत झोला या अन्य गैरसुरक्षा सामग्री बोकेर सँगै हिँड्दैन । उनीहरूले पहिले नै आफ्नो सामान गाडीमा राखिसकेका हुन्छन्, यदि त्यो नभए पनि आफ्नो अर्को साथीको सहयोग लिन्छन् । नेपालमा चाहे जुनसुकै पार्टीका नेताले सुरक्षाकर्मीलाई प्रायः दुरुपयोग गरेकै छन् । अब कसैले नगरौँ । र, अन्जानमा गल्ती भयो भने स्वीकार गरौँ, झुट नबोलौँ ।’
प्रधानमन्त्रीपत्नीको यो झोला प्रकरण यति आलोचित बन्यो, सामाजिक सञ्जालमा आएका विवरणले पनि यो नाकामै हो भनियो । त्यसको एउटा उदाहरणमा जिनेश भट्टले सञ्जालमा नयाँ भाउजूले सुरक्षाकर्मीलाई झोला बोकाउँदा किन मौन ? भन्दै धेरैको ध्यान तानेको देखियो । ‘पुराना भाउजूले सुरक्षाकर्मीलाई झोला बोकाएको देख्दा विशेषाधिकार भन्नेहरू नयाँ भाउजूले पनि उही काम गरिरहँदा किन मौन छन् ? आखिर भाउजू नयाँ होस् वा पुराना व्यवहार उस्तै रहेछ । व्यक्ति फेरिए पनि प्रवृत्ति फेरिएन भने आलोचना पनि बराबर हुनुपर्छ हैन र ?’
यस्ता प्रतिक्रियाबारे यी प्रधामनमन्त्री पत्नीले लामो स्टाटस लेखेकी छिन्, जसमा अरुलाई धेरै पाठ पढाइएको छ । असार १० मा नै लेखिएको प्रधानमत्रीपत्नी काफ्लेको त्यो स्टाटस यस्तो छ –
‘राजनीतिक परिवेश परिवर्तन भइरहेको अवस्थामा, नेता वा कुनै राजनीतिज्ञको र उसको परिवारको सानाभन्दा साना कुराहरू आम मानिसले कौतुहलता, शंका र सचेतताले हेर्ने चाहना बढेको छ र हेर्न आवश्यक पनि छ .. गलत छ भने खण्डन गर्न पक्कै पनि पाइन्छ ।
तर चितवनको एउटा विशेष बसाइपछि आज काठमाडौं फर्किने क्रममा मेरो परिवारको एउटा फोटोलाई लिएर मेरो ब्याग सुरक्षाकर्मीले बोकेको भन्ने समाचार देखेपछि अचम्मित छु .. अनि दुखी पनि छु । समाचार लेख्नुअघि घटनाको सत्यता बुझ्न जरुरी छ जस्तो लाग्छ । किनकि जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ ।
तर महिलाको चरित्र हत्या गरेर चर्चामा आएको मिडियाबाट यो समाचारको सुरुवात गरिएको देखेपछि यो नियोजित छ भन्ने मैले बुझेँ ।
पुराना र नयाँ उस्तै उस्तै भन्दै गरिएका टिप्पणी सबै हेरिरहेकी छु .. हुन त विगत केही समयदेखि मलाई पुराना (श्रीमती) पात्रहरूसँग दाँजेर अरू पनि समाचारहरू बनाइएको छ र कमेन्टहरू पनि गरिराखिएको छ जुन कुरामा मलाई खासै बोल्नु परेको जस्तो लागेको थिएन तर आजको ब्याग बोकेको समाचारले म चुप बस्न हुँदैनजस्तो लाग्यो ।
नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोणचाहिँ अझै उस्तै छ .. देशको चौथो खम्बा भनिएको मिडियाको समाज निर्माण र राजनीतिक विश्लेषणमा एकदमै ठूलो भूमिका हुन्छ । र गैरजिम्मेवार ढंगले यसरी समाचार बनाएर कसैको मानहानी गर्नु गैरकानुनी हो । जुन सुधारिन जरुरी छ ।
हुन त म सार्वजनिक मान्छे हो, यो सबै कुरा प्रेस काउन्सिलमार्फत कुनै कानुनी प्रक्रिया, मुद्दा मामिलामा लगेर गर्नु पर्ने हो । तर म एउटा आम नागरिकको हैसियतले आज यो कुरा गर्दैछु । किनभने यो एकदमै सानो कुरा हो । र यस्तो सानो तिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा पनि होइन । बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानीका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ । र यस्ता समाचार लेख्ने लेखनमा संलग्न पत्रकारहरूले सुधारिनु पर्छ भन्न चाहन्छु । त्यसैले यी कुराहरू लेखेँ ।’
राष्ट्रपति परिवारको जुत्ता
सत्तामा पुगेपछि सामान्य मान्छे पनि कसरी असामान्य हुन्छन वा हुँदारहेछन् भन्ने यी प्रधानमन्त्री पत्नीको झोला काण्ड मात्र होइन यसअघि पनि यस्ता घटना भएका छन । अहिलेको घटना भने सत्तामा सय दिन नपुग्दै भयो । अर्थात् सत्ताकोे मात छिटै लाग्यो । त्यति मात्र हो ।
यसअघि महिला राष्ट्रपति भनेर धेरै चर्चामा आएकी विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको करिव वर्ष दिनको सेरोफेरोमा करिब–करिब यस्तै हर्कत देखाएर चर्चा पाएकी थिइन् ।
उनी २०७२ साल कात्तिकमा राष्ट्रपतिमा नियुक्त भएकी थिइन् । त्यसको एक वर्षपछि सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गर्न पुगिन् । उनको यो यात्रा हेलिकोप्टरमा परिवारका सदस्यसहितको थियो ।
हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र उनका दुई छोरी उषाकिरण र निशाकुसुम मन्दिर परिसरमा पुगे । जहाँ सेना, सशस्त्र, नेपाल प्रहरी, तालिमप्राप्त कुकुर र राष्ट्रपति कार्यालयको विशेष सुरक्षा टिम परिचालित थियो । सुरक्षाका दृष्टिले यो स्वाभाविक काम थियो ।
तर यता सेनाका चार जवान भने राष्ट्रपति र उनका छोरीहरूका जुत्ता–चप्पल बोक्न ब्यस्त थिए । उपल्ला सैनिक अधिकारी र राष्ट्रपति कार्यालयका कर्मचारीका जुत्ता–चप्पल बोक्ने काम पनि सेनाका जवानले गरेका भनेर त्यसबेला अखबारमा समाचार आए ।
मन्दिरको प्रवेशद्वार छेउमा राखिएका जुत्ता–चप्पल सेनाका जवानले त्यहाँबाट बोकेर मन्दिरको निकासद्वारसम्म पु¥याएका तस्बिर पनि खिचिए । जुत्ता–चप्पल बोक्ने काममा खटाइएका सैनिकको तस्बिर खिचिरहेका सञ्चारकर्मीलाई सेनाका उच्च अधिकारीले भने मन्दिर परिसरबाटै हटाएर ढाकछोप गर्न खोजेका थिए । तर भोलिपल्टका अखबारहरूमा तस्बिरसहितका विवरणहरू प्रकाशित भए । यसबारे राष्ट्रपतिले भने कुनै प्रतिक्रिया दिइनन् ।
अहिलेकी एक नम्बर महिला प्रधानमन्त्रीपत्नीले भने समाचार लेख्नेमाथि आफ्नो शक्ति देखाइदिने प्रकारले धम्की नै दिइन् । ‘..बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानिका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ जस्तो लाग्छ । र यस्ता समाचार लेख्ने लेखनमा संलग्न पत्रकारहरूले सुधारिनु पर्छ भन्न चाहन्छु’ भन्नुको अर्थ अरु के होला त ?