विज्ञान र प्रविधिको विकासले संसारको एउटा कुनामा घटेको घटना क्षणभरमा नै संसारभर फैलिएको हुन्छ । कुनै एक व्यक्ति केही समयमा नै विभिन्न देशको भ्रमण गरेर स्वदेश फर्कन सक्दछ । तपाइँ हाम्रो हत्केलामा भएको एउटा सानो उपकरणमा संसार अटाउन सक्दछ । हातको एउटा औलाले थिच्दा कति धेरै काम फत्ते भएका हुन्छन् लेखाजोखा गर्न सकिँदैन । मानिसको सानो खोपडिको प्रयोगबाट यति धेरै काम सम्पन्न गर्न सकिन्छ कि कल्पनै गर्न सकिँदैन ।
अहिले सबैको हातमा मोबाइल हुन्छ । मोबाइलको प्रयोगबाट असंख्य काम लिन सकिएको छ । घरमै बसीबसी धेरै काम गर्न सम्भव छ । कागज, अनुहार र नगदविना कार्यालयबाट सेवा उपलब्ध हुन सक्दछ । बैंकमा पैसा झिक्न जानु पर्दैन । कसैलाई पैसा दिनप¥यो भने पनि मोबाइलबाटै पठाउन सकिन्छ । बिजुली र पानीको पैसा तिर्न कार्यालय धाउन पर्दैन । ग्राहक जहाँ भए पनि सजिलै पैसा पठाउन सकिन्छ । कतिपय काम र निवेदनहरू पनि सामाजिक सञ्जालबाटै सम्भव हुने गरेका छन् । यी सबै कुरा सामाजिक सञ्जालकै योगदान हो । यसैले गर्दा सामाजिक सञ्जालको प्रयोग र उपयोग अत्यधिक मात्रामा बढ्दै गएको छ । यो कसरी सम्भव हुन सक्छ भन्ने सन्दर्भमा एल्गोरिदम बुझ्नु आवश्यक छ ।
हामीलाई खाना तयार गर्नुछ भने त्यसको लागि आवश्यक पर्ने सामग्रीको संकलन गर्नु प¥यो । सामग्रीको संकलन गरिसके पछि प्रेसर कुकरमा चामल राखिन्छ अनि आवश्यक पानी । त्यसपछि मात्र चुलामा भाँडो बसालिन्छ । केही समयपछि प्रेसर कुकरमा सिठ्ठी आउँछ । सिठ्ठी लाग्नासाथ पनि खाना खान उपयुक्त हुँदैन । किनभने केही समय खाना ओथाउनु पर्दछ । यसपछि मात्र खाना खान उपयुक्त हुन्छ र हाम्रो पूर्व निर्धारित लक्ष्य पूरा हुन्छ । अर्थात् अन्तिम नतिजा आएको हुन्छ । यो उदाहरणले के संकेत गर्दछ भने यहाँ भएका क्रियाकलाप प्रष्ट छन् र क्रमबद्ध पनि । एउटा मात्र चरण पूरा भएन भने खाना तयार हुन सक्दैन । हो, एल्गोरिदम पनि यस्तै हो । हामीले खोजेको भिडियो वा यस्तै कुरा देखाउनु छ भने उसले आन्तरिक रुपमा धेरै चरणगत रुपमा काम सम्पन्न गर्नु पर्दछ ।
कारखानाबाट कुनै वस्तु उत्पादन गर्नु छ भने यसको लागि धेरै कुराको आवश्यक पर्दछ । सर्वप्रथम कच्चा पदार्थ हुनै पर्दछ । यसलाई प्रशोधन गर्नको लागि प्रकृया अपनाउनु पर्दछ । यति गरिसके पछि तयारी वस्तु बाहिर निस्किने हो । त्यहाँ कच्चा पदार्थ चाहिएकै हुन्छ । प्रोसेस भएकै हुनु पर्दछ । यी सबै चरणगत कार्य भएपछि मात्र हामीले प्रयोग गर्ने वस्तु बाहिर आउने हो । एल्गोरिदम यस्तै प्रकृया हो जसले अन्तिम नतिजा प्रदर्शन गरेको हुन्छ ।
हामीलाई कुनै गणीतको हिसाब गर्नु छ भने एकैचोटी उत्तरमा पुग्न सकिँदैन । यसको लागि विभिन्न चरणहरू पार गर्नै पर्दछ । अन्यथा दुर्घटना हुन सक्दछ । भन्नुको अर्थ ठीक उत्तर आउन सक्दैन । क्रमबद्ध रुपमा हिसाब गर्दै आउने हो भने नतिजा ठीक आउँछ नै । यो पनि एल्गोरिरदमसँग मिल्ने दृष्टान्त हो ।
एल्गोरिदम गणितीय नियमहरूको सेट र सूत्रमा आधारित हुन्छ । यसले सत्य असत्य छुट्ट्याएको हुँदैन । किनभने उसलाई एक किसिमको प्रविधिमूलक विधि प्रवाह गरिएको हुन्छ । सामाजिक सञ्जालहरूमा विभिन्न किसिमका सामग्री युट्युब तथा फेसबुकमा राखिएको हुन्छ । तपाइँ हामीलाई कस्तो पोस्ट मन पर्छ त्यही विषय खोजी खोजी हेर्ने गर्दछौँ । हामीले यस्ता सामग्री पटक–पटक हेरेका हुन्छौँ । हामीले यसरी हेरेका सामाजिक सञ्जालमा भएका पोस्टहरू एल्गोरिदमले थाहा पाइहाल्छ । अनि यस्ता सामग्रीहरू खोजी–खोजी एल्गोरिदमले हामीलाई देखाउने गर्दछ । हामीले यो अनुभव गरेका छौँ कि एकै प्रकारका विषयवस्तुहरू दोहोरिँदै तेहोरिँदै एल्गोरिदमले देखाउने गर्दछ । यसको मूल कारण भनेको त्यहाँ एउटा जटिल गणितीय सूत्रले निरन्तर रुपमा काम गरिरहेको हुन्छ । जसलाई एल्गोरिदम भनिन्छ ।
एल्गोरिदमले मानिसको धेरै समय खाइदिएको पनि हुन्छ । हामीलाई छोड्नै मन लाग्दैन । हामीलाई एकोहोरो बनाइदिन्छ र एक किसिमको लत बसाली दिन्छ । निरन्तर रुपमा केही आउँछ कि भनेर तलमाथि स्क्रोल गरिरहन मन लाग्छ । हामीले यसो गरिरहँदा एल्गोरिदमले भने उसका मालिकलाई फाइदा दिएको हुन्छ । किनभने उसले विज्ञापनबाट मनग्गे लाभ लिएको हुन्छ । एल्गोरिदमले हाम्रो धेरै समय लिएको हुन्छ । हामीले समयको महत्व बुझेका हुँदैनौँ र घण्टौँ घण्टौँ सामाजिक सञ्जालमा बसेका हुन्छौँ ।
जुनसुकै समयमा पनि मोबाइल नै हातमा हुन्छ । गोजीबाट झिक्दा केही समय लाग्ने हुनाले हातमा देखाउँदै हिँडेका हुन्छौँ । किनभने तुरुन्त चलाउन पाइयोस् । अहिले हामीहरूमध्ये धेरैको व्यवहार डाटामा गएको छ । सामाजिक सञ्जालमा कसले के पोस्ट ग¥यो भन्नेमा आतुर हुने गरेका छौँ । राजनीति घटनाक्रम र यस्तै दुर्लभ घटनाहरूमा त झनै कति हो कति व्यस्तता । यसरी अहिलेको मानिसलाई एल्गोरिदमले सधैँजसो डोर्याएको हुन्छ ।
एल्गोरिदममा संवेदनशीलता नहुने भएकोले के ठीक के बेठीक भनेर छुट्याउन सक्दैन । त्यसकारण राम्रा कुरालाई हामीले ग्रहण गर्नुपर्दछ भने नराम्रा कुरालाई चटक्क छोडिदिनु पर्दछ । यो नै बुद्धिमान हुन आउँछ । एल्गोरिदमले कसले के सर्च गरेको छ र के मन पराएको छ भन्ने सजिलै पत्ता लगाउँछ र त्यही क्षेत्रलाई धेरै पटक देखाइरहन्छ । हामीले के बुझ्न जरुरी छ भने उसले देखाउने नराम्रा कुरालाई पनि त्याग्न हुँदैन । तिनीहरूबाट पनि हामीले धेरै कुरा सिक्न सक्दछौँ जसले हामीलाई परिपक्व बनाउन सक्दछ ।
हालै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । यो समयमा निर्वाचनको प्रचारप्रसारका सामग्रीहरू सामाजिक सञ्जालमा अत्यधिक प्रयोग गरिएका थिए । मुख्य कुरो भनेको उम्मेदवारहरूले मतदाताहरूको मन जितेर आफूतिर मत तान्नु थियो । त्यसैले गर्दा लोकप्रिय हुनको लागि सामाजिक सञ्जालमा विभिन्न आकर्षित कुराहरू पोस्ट गरिएका थिए । पोस्ट गरिनुको उद्देश्य भनेको आफ्नो प्रचार प्रसारको सामग्री सामाजिक सञ्जालमा पटक–पटक देखा पर्नु नै हो । यसरी एल्गोरिदमबाट चुनावको समयमा उम्मेदवारहरूले फाइदा लिएको अवस्था थियो ।
एल्गोरिदमले भित्रभित्रै विभिन्न गणितीय सूत्रहरूको क्रमबद्ध किसिमले एउटा सेट नै निर्माण गरेको हुन्छ । प्रत्येक चरण पार गरेर अन्तिम नतिजा हामीलाई प्रवाह गरेको हुन्छ । हामीलाई यस्ता पोस्ट मन पर्ने भएकोले लाइक गरेका हुन्छौँ । सेयर गरेका हुन्छौँ । कसैलाई फर्वाड पनि गरेका हुन्छौ । राम्रो लागेर कमेट पनि गरेका हुन्छौँ । यसरी हामीले धेरै मन पराएको अवस्थामा हामीलाई एल्गोरिदमले धेरै नंवर दिएको हुन्छ र हामीलाई पुरस्कृत स्वरुप उसले त्यही पोस्ट पटक–पटक पठाउने काम गर्दछ ।
यदी हामीले त्यो पोस्टलाई मन पराएका हुँदैनौ भने यो कुरो एल्गोरिदमले बुझिसकेको हुन्छ । किनभने हामीले डिसलाइक वा हटाएका हुन्छौँ । यस्तो अवस्थामा उसले हामीलाई नम्बर दिएको हुँदैन । अर्थात् त्यो भिडियो पठाउँदैन । मन नपरेको कुरा उसलाई थाहा भइसकेको हुन्छ । यहाँ यो बुझ्न आवश्यक छ कि हामीले कुनै कुरा सर्च गर्दछौँ भने उसले क्षणभरमा गणितीय नियमहरूको एउटा चरणबद्ध श्रृंखलामा सेट नै तयार गरिसकेको हुन्छ । अनि प्रत्येक चरण पार गर्दै अन्तिम नतिजा दिएको हुन्छ । यो भनेको हामीहरूको अगाडि आइदिने कुनै पनि विषयको भिडियो वा पोस्ट नै हो । एल्गोरिथम भनेको कुनै निष्कर्षमा पुग्नको लागि प्रयोग गरिने वैज्ञानिक र व्यावहारिक तरिका हो । अहिले मोबाइल, वेभसाइट, बैकिङ प्रणाली , सामाजिक सञ्जालजस्ता क्षेत्रहरू एल्गोरिदममा आधारित हुन्छन् ।
एल्गोरिदम समस्या समाधान गर्ने एक प्रकारको योजना पनि हो । योजना तर्जुमा गर्दा चरण–चरण गरेर गर्नु पर्दछ । योजनालाई प्रोग्रामिङ्मा लैजानु पर्दछ । गणीतीय भाषामा भन्नुपर्दा जावा, पाइथा आदि हुन् ।
एल्गोरिदमबाट धेरै फाइदा लिन सकिन्छ । ठूला–ठूला समस्याहरूलाई सानो–सानो खण्डमा विभाजन गरेर सजिलो बनाउन सकिन्छ ता कि कार्यान्वयन गर्न सकियोस् । वैज्ञानिक तरिकाले क्रमबद्ध रुपमा समस्या समाधान गर्ने हुनाले त्रुटि वा कमजोरी न्यूनिकरण गर्न सकिन्छ । साथै समय र स्रोतको बचत पनि गर्न सकिन्छ ।
एल्गोरिदमबाट फाइदा मात्र हुन्छन् भन्न सकिदैन । बेफाइदा पनि हुन्छन् । यदि कुनै जटिल समस्या छन् भने त्यसको एल्गोरिदम तयार गर्न समयजन्य हुन सक्दछ । यसले मानिसको भावना, संवेदना, करुणा तथा गलत कुरा बुझ्न सक्दैन जसले हामीलाई क्षति पु¥याउन सक्ने हुन्छन् । त्यसैले यसबाट चनाखो भने हुनै पर्दछ ।