ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्यभएका छन् ।
सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको छ । विभागको तथ्यांकअनुसार नेपालमा कुल ३५ लाख ५७ हजार सात सय ६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तीमध्ये २५ लाख ३६ हजार तीन सय १९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार तीन सय ८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
यसवर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन् । कतिपय स्थानमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन् । यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढेको छ । सिँचाइ तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आव २०८१/८२ मा विभागले १६ हजार तीन सय आठ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो । यस्तै चालू आर्थिक वर्ष २०८२/८३ मा छ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ । तर चालू आवको चैत मसान्तसम्म केवल चार हजार ४८ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ । चालू आवमा निर्धारित लक्ष्यमा कमी आउनुको कारण आन्दोलन र आयोजना कटौती रहेको छ ।
कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन तथा भरपर्दो सिँचाइ पूर्वाधारको विकास आवश्यक रहेको सिँचाइ तथा जलस्रोत विभागको भनाइ छ ।