जनकविकेशरी स्व. धर्मराज थापाको स्वरमा रहेको ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ गीत कुनै जमानासम्म रेडियो नेपालबाट निकै बज्ने गरेको थियो । कुन्ती मोक्तानको स्वरको ‘गोठालो जादा लाएको माया खेतालो जाँदा भुलेछ...’ पनि निकै स्रोताहरूले सुने र रुचाए पनि । लोक बहादुर क्षेत्रीको ‘आमा रुँदै गाउँबेशी मेलामा छोरो रुँदै गोरखपुर रेलैमा...’ भावुक गीत पनि कुनै जमाना निकै सुनिने गीतमा पर्छ । ‘मंसिरको महिना धानको बाला सुरुरु परेवा उड्यो भुरुरु...’ यो गीतमा चाहिँ एउटा कुरा मिल्दैन, मंसिरमा धानका बाला देखिने याम होइन । हुन त ‘चैतमास भेलले.....’ बोलको गीत पनि नबजेको होइन । ‘गाई त बाँध्यो ढुंग्रोमा मही छैन मही छैन गरिबको चमेली कोही छैन कोही छैन...’ बोलको गीत ‘बलिदान’ सिनेमाको हो । सिनेमाले बामपन्थीहरूलाई खुशी त गरायो तर देशम बामपन्थी हामपन्थी भइदिएपछि देश र जनताको बिजोग छ । व्यंग्यात्मक भाषामा ‘कमाउनिस्ट’ वा ‘कमनिष्ठा’ भनेर चिनिने पार्टीका नेताहरूले लोकतन्त्रको खोल ओढेर करोडपति र अर्बपति भए । सातपुस्ता पुग्ने गरी कमाए प्रजातन्त्रवादी भनाउँदा केही चलाक र छट्टु नेताहरूले । यता जनतालाई ‘भारतीय विस्तारवाद मुर्दावाद!’ भन्न लगाउने र नेता उता गएर दिल्लीमा नेताहरूसँग ह्विस्की सहितको डिनरमा रमाउने गरेपछि देशमा कम्युनिस्टको बीउ पनि बच्ला जस्तो छैन । नेताहरूबाट धोकैधोका बाहेक जनताले खासै केही पनि पाएनन् । लोकतन्त्रको आडमा देशमा भएका सरकारी उद्योगहरू डुबाइए, किसानहरूको बिचल्ली भयो अनि ‘जनमुखी काम ग¥यौँ’ भनेर गदगद हुने काम भयो नेताहरूबाट । खाडी मुलुकबाट दश वर्षमा दश हजार लाश त्रिभुवन विमानस्थलमा ओर्लिदा पत्तो नपाउने नेताहरूले ‘रेमिट्यान्स उल्लेख्य मात्रामा भित्रियो’ भनेर दंग पर्ने काम पनि भयो । गाउँघरमा खेतबारी बाँझो पारेर मुलुकलाई आयातमुखी बनाइएपछि जनताको स्वास्थ्यमा नकारात्मक असर परिरहेको कुरा नेताहरूले बुझेनन् र बग्रेल्ती निजी अस्पतालहरू खुले अनि जनताको धनसम्पत्ति सकिँदै गयो उपचारको नाममा । त्यसैले सुरक्षित खाद्यवस्तु उपलब्ध गराउनु कुनै पनि सरकारको कर्तव्य हुनआउँछ । कृषि–किसानहरूसँग जोडिएका माथि उल्लिखित कर्णप्रिय गीतहरू अब सुन्न पाइने अवस्था छैन र समय सान्दर्भिक पनि लाग्दैन ।
पछिल्लो समयमा मान्छेहरू मीठो खाने, राम्रो लाउने आराम गर्ने, ऐयासी जीवन बिताउने बानी पर्नाले आफ्नो जीउ–ज्यानप्रति पर्वाह भएको पाइँदैन । सहर बजारमा पाइने मीठामीठा खानेकुरा किनेर घर नजाँदासम्म सो खानेकुरा कतिबेला घर पुगिएला र मीठासपूर्वक खाऔँला र आनन्द प्राप्त गरौँला भन्ने सोँच राखेका हुन्छन् उपभोक्ताहरूले । हुन त आनन्द नै जीवन हो भनिन्छ, वास्तवमा जीवन भनेको सुख–दुःखको संगम नै हो । सुखैसुख पनि जीवन होइन भने दुःखैदुख पनि जीवन होइन । मान्छे जन्मिएपछि उसलाई भोक लाग्नु स्वभाविकै हो । भर्खरै जन्मिएको शिशुले पनि भोक लागेको संकेत स्वरूप ऊ रुनेगर्छ र जन्मदिने आमाले उसको भोक बुझेर स्तनपान गराउँछिन् । शिशुबाट बालबालिका हुँदै किशोरावस्थामा पुग्दासम्म ऊ भोक लागेको अवस्थामा अभिभावकबाट खाना पाउने आशामा रहन्छ । युवावस्थामा उसले कमाइधमाइ गर्नथाल्यो भने आफूखुशीका खानेकुराहरू खान सक्षम हुन्छ वृद्धावस्थामा नपुगुन्जेल र सकुन्जेल । उसले आफ्नो इच्छा बमोजिमका परिकारहरू खाएर भोक मेटाउँछ । प्राणवायु र पानीपछि खाना प्राणी बाँच्ने मुख्य आधार हो । कोही कोहीलाई मर्ने बेलामा सोध्ने गरिन्छ ‘अन्तिम इच्छा के छ’ भनेर । कसैले मासु खान पाए हुन्थ्यो, कसैले खिर खान पाए हुन्थ्यो पनि भन्ने गरिन्छ । वास्तवमा खाने इच्छा कसैको पनि मार्नु हुँदैन ।
जनताले सुरक्षित खाद्यवस्तु उपभोग गर्नु पाउनुपर्ने कुरामा जुनसुकै सरकारले पनि गम्भीर रूपले ध्यान दिनु अति नै जरुरी हुन्छ । कुनै पनि उद्योगी वा व्यवसायीहरूले उत्पादित तथा बिक्री हुने खाद्यवस्तु गुणस्तरीय तथा ग्रहणयोग्य हुनुपर्दछ । यो उद्योगी तथा व्यवसायीहरूको पहिलो धर्म हुन आउँछ । धन सबैथोक होइन धनका लागि जे पायो त्यही बिक्री गर्न पनि हुँदैन । सरकारको आँखा छलेर बदमासी गर्नु भनेको अपराध हुन जान्छ । यदि त्यसो गरेमा नितान्त दण्डनीय क्रियाकलापमा गनिन्छ र त्यसलाई उपभोक्तामाथिको घात भनिन्छ । तसर्थ सरकारले देशभरका खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरू र आयात कम्पनी वा फर्महरूमा खाद्यवस्तुहरूको गुणस्तर के कसो छ र उपभोयोग्य छ कि छैन भनेर मापन गर्नका लागि एउटा छुट्टै संयन्त्र गठन गर्नु जरुरी छ । छिमेकी दुई मुलुकबाट आयात हुने चामल, फलफूल, तरकारीमा विशेष चेकजाँच गर्नका लागि नाकामै अत्याधुनिक उपकरणसहितको टोली उपस्थित हुनुपर्छ र परीक्षण गरेर मात्र देशभित्र ल्याउन दिनुपर्दछ ।
बेलाबेलामा भण्डारणमा छड्के परीक्षणः
नेपालको मुख्य सहर काठमाडौँ र अन्य मझौला तथा साना सहर अनि गाउँगाउँमा रहेका बजारहरूबाट बिक्री हुने खाद्यवस्तुहरूको भण्डारन कस्तो किसिमले भइरहेको छ भनेर स्थानीय निकायहरूबाट निरीक्षण गरिरहनुपर्दछ । ढुसी पर्ने ठाउँ अर्थात् ओसेपमा भण्डारन गरिएको छ भने ती खाद्यवस्तुहरू निश्चय पनि खानयोग्य हुँदैनन् । खाद्यवस्तु सुरक्षित राख्नका लागि सुख्खा भण्डारमा मात्र भण्डारन गरिनुपर्छ ।
सडक छेउँमा परिकार बन्देजः
सहर बजारतिर सडकको छेउँछाउँमा बनाइने परिकारहरूमा गाडीले उडाउने धुवाँ तथा धुलोका कणहरू बसेका हुन्छन्, जुन हाम्रो आँखाले सजिलै देख्न सकिन्न । सडक किनाराबाट पन्ध्र बीस मीटरभित्र मात्र खाद्यवस्तुहरू तयार गर्नका लागि सरकारले कडाइ गर्नु जरुरी छ । यस सम्बन्धमा स्थानीय तहबाट जनचेतनाका सन्देशहरू प्रचार प्रसार पनि गर्नुपर्दछ । कहिलेकाहिँ वायुप्रदूषणमा विश्वमा नम्बर एकमा काठमाडौँ पनि पर्छ । केहि हप्ताअघि मात्र भारतको नयाँदिल्ली पहिलो नम्बरमा, पाकिस्तानको लाहोर दोस्रो नम्बरमा र काठमाडौँ तेस्रो नम्बरमा रहेको थियो । जुनसुकै मामलामा पनि सबैभन्दा बढी लापरबाही एसियाली मुलुकहरूमा हुनेगर्छ । कारण एउटै हो चेतनाको अभाव, भद्रोगोल सहने क्षमता र हेलचक्राइँको पराकाष्टा ।
अखाद्य वस्तु प्रयोगमाः
हाम्रो मुलुकमा जतिसक्दो छिटो धन कमाउने होड नै चलेको छ । ‘एनि हाउ पैसा कमाउ’ भन्ने उखान पहिलेदेखिको हो । कतिपय नेपालीहरूमा जसरी भए पनि धन कमाउनुपर्छ भन्ने अघोषित मान्यता रहेको छ । बजारमा पाइने धेरै प्रकारका तयारी खाद्यवस्तुहरूमा कृत्रिम रङ, स्वाद र वास्ना प्रयोग हुनेगरेको पाइन्छ । पेय पदार्थ, मिठाइ, बेकरी आइटम, चटपटे, पानीपुरी र रेस्टुरेन्टहरूमा तयार गरिने कतिपय परिकारहरूमा कृत्रिम स्वाद, रङ र वास्नाको प्रयोग हुनेगरेको छ । पारो र सिसा जस्ता खतरनाक धातु प्रयोग भएका कतिपय खाद्यवस्तुहरू निर्धक्कले उपभोग गरेपछि स्वास्थ्यमा आउने समस्याका कारण अस्पतालहरूमा धन खर्च गर्नुपर्ने अवस्था छ ।
स्वदेशी उत्पादन प्रयोगमा जोडः
सरकारले पहिले स्वदेशमा नै खाद्यवस्तुका कच्चा पदार्थहरू उत्पादन गर्नका लागि जोड दिनुपर्दछ र प्रोत्साहन पनि गर्नुपर्दछ । किसानहरूलाई प्रोत्सान तथा पुरस्कारको व्यवस्था गरिएमा निश्चय पनि कृषकहरू आकर्षित हुनेछन् र खेतबारी बाँझो रहने अवस्था रहँदैन । कृषितर्फ जनतालाई आकर्षित गर्न सकेमा वैदेशिक रोजगारको बाध्यता पर्ने थिएन । अहिले मलुक कृषिप्रधान हैन कि कुर्सीप्रधान भनेर चिनिन्छ । किन कि जसलाई पनि कुर्सीमोह भएको देखिन्छ । भारतमा दुई वर्ष पुरानो चामलाई लिलाम गर्ने चलन छ त्यो चामल नेपालमा ल्याएर बुट्टेदार बोरामा प्याक गरेपछि उपभोक्ताले चामलको गुणस्तर नहेरी बोराको रङ र बुट्टा हेरेर किन्ने चलन छ । खेतबारी बाँझो राख्नेलाई जरिवा गर्ने व्यवस्था गरिनु पनि जरुरी देखिन्छ । गुणस्तरहीन खानेतेल आयात र उत्पादनलाई पनि निरुत्साही गरिनु जरुरी छ । मकै र कोदो आयात गरिनु हामीहरूका लागि निकै दुःखको कुरा हो । नाइजेरियाको मकै भुटेर खानुपर्ने अवस्था कहिलेसम्म ? वार्षिक सत्तरी करोडको कोदो आयात गर्नु पनि निर्लज्जता नै हो भन्न सकिन्छ । मुस्ताङ वा जुम्लाको स्याउ भन्दै भारतको स्याउ बेच्ने गरेको पनि उपभोक्ताले पत्तो पाउँदैनन् । विश्वास गरिहाल्ने नेपाली उपभोक्ताहरूको बानी कुनै नौलो होइन, फटाहाहरूको जगजगी छ मुलुकमा । रैथाने भन्दै ठगले आयातीत खाद्यवस्तुहरू भिडाउनसक्ने हुँदा यसतर्फ सबै उपभोक्ताहरू सजग रहनु आवश्यक छ ।
हामी थाइल्यान्डको इमली प्रतिकिलो नौ सय रुपियाँमा खान तयार हुन्छौँ, तर रुखबाट टिपेर खान चाहँदैनौँ र रुखमै सुकेर नस्ट हुन्छ इमली वा तित्री । काठेकाउली वा कालीकाउली अहिले गाउँबाट लोप हुने अवस्था छ । त्यस्ता स्वादिला तरकारीहरूलाई जोगाउनेतर्फ किसानहरूको ध्यान गएको पाइँदैन । हाम्रै वनपाखा कान्लामा उपलब्ध हुने भाल्वापाटे वा कालीनिगुरो, जिब्रेको साग जस्ता तमाम सागसब्जीहरूप्रति बेवास्ता हुनाले र आयातीत मात्रमा भर पर्नाले स्वास्थ्य बिग्रने नै भयो ।
अन्त्यमा आफ्नै प्रसङ्गः
यो लेखकको जन्मथलो रोल्पाको खुंग्री समुद्र सतहबाट ७०० मीटरको उचाइमा रहेको छ । साथीहरूले मलाई ‘रोल्पाबाट काठमाडौँ कहिले झर्नुभएको हो ?’ भनेर सोध्न थालेपछि ‘साथीहरूको उल्टो प्रश्न’ शीर्षकको मेरो एक लेख प्रकाशन भइसकेको छ । रोल्पा भनेर हुँदैन, उच्च पहाडी भेगदेखि औलो लाग्ने बेशीसम्मका भूभाग छन् रोल्पामा, रोल्पालाई डोल्पासँग तुलना गर्नु कदापि हुँदैन । मेरो गाउँमा उहिल्यै बाजे–बराजुबाट रोपिएका विभिन्न किसिमका आँपका बोटहरू छन् । हाम्रो गाउँमा पाइने सिन्दुरे आँप, लोहोरे आँप, डल्ले आँप, जगल्टे आँप, नुनढिके आँप, कल्लीकोसे आँप, चिनी आँप, मिठी आँप, बम्बै आँप, चुका आँप, बान्धे आँप, दियाले आँप, सुपारे आँप काठमाडौँको बजारमा खोज्दा कहिँ पनि पाइँदैन । माल्दा र दसहरी मात्र पाइन्छ, त्यो पनि खाएपछि टाउको दुख्ने, पखाला चल्ने, ज्वरो आउने गरि विषादी हालिएका ।
आयात रोकेर सुरक्षित खाद्यवस्तुको उपलब्धता र निरोगी जनस्वास्थ्यप्रति सरकारको गम्भीर ध्यान जानु अति नै जरुरी छ ।