काबुल । अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ । कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्यपूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको हो । पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो । विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो मध्यपूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन् ।
व्यवसायीका अनुसार जापानलगायत देशबाट आउने पार्टपुर्जा पहिले पाकिस्तान हुँदै स्पिन बोल्दाक पुग्थे, जहाँ गाडी एसेम्बल तथा मर्मतकार्य हुन्थ्यो । तर अहिले ढुवानी लागत अत्यधिक बढेको र आपूर्ति शृंखला अवरुद्ध भएको छ । व्यवसायी भन्छन्, मध्यपूर्वमा तनाव बढेपछि इरान वरपरको व्यापार मार्ग तथा ‘स्टे«ट अफ होर्मुज’ हुँदै हुने ढुवानी पनि प्रभावित भएको छ, जसले संकट अझ गहिरो बनाएको छ ।
ढुवानी कम्पनीका अनुसार युएइको प्रमुख व्यापारिक केन्द्र जेबेल अली बन्दरगाहमा ढिलाइ बढ्दै गएको छ । यसका कारण जापान र यूएईबीचको नियमित आपूर्ति प्रणालीसमेत प्रभावित भई अवरुद्ध भएको छ । स्थानीय व्यवसायीका अनुसार कन्टेनर लागत दुई हजार अमेरिकी डलरबाट बढेर आठहजार डलरसम्म पुगेको छ भने धेरै कन्टेनर युएइ र जापानमै अड्किएका छन् ।