काठमाडौं । सप्तरीको राजविराज नगरपालिका वडा नं. ३ स्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख (पशु विकाश अधिकृत/आठौँ) डा. राम पवित्र दासले आफ्नै गाडी चालक परिचालन गरेर घुस रकम उठाएको फेला परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार दासले हलुका सवारी चालक भोगेन्द्र यादवलाई परिचालन गरेर भ्याक्सिनेटरहरुबाट सेवा उपलब्ध गराए बापतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन स्वरूप पैसा उठाएको फेला परेको हो । उनीहरुले भ्याक्सिनेटरहरुबाट सेवा उपलब्ध गराए बापत अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सोमबार सवारी चालक यादवलाई घुस बापतको ३३ हजार तीन सय पचास रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
साथै अख्तियारको टोलीले स्रोत नखुलेको अर्को ४८ हजार सत्तरी रुपैयाँसहित ८१ हजार चार सय २० रुपैयाँ पनि बरामद गरेको छ । साथै उनीहरुको साथबाट अख्तियारको टोलीले एक लाख २९ हजार रुपैयाँ उल्लेख भएका भिन्न भिन्न चारवटा चेक र एउटा मोबाइल पनि बरामद गरेको छ ।
यस्तै, निमित्त कार्यालय प्रमुख डा. दासको साथबाट १ लाख २५ हजार रुपैयाँ उल्लेख गरिएको चेक र एउटा मोबाइल पनि बरामद गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।