काठमाडौं । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–२ स्थित सीमा इलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले २३ लाख रुपैयाँ बराबरको काठसहित गाडी नियन्त्रणमा लिएको छ ।
साथै उक्त काठ लैजान लागेका गोरखा जिल्ला घर बताउने अन्दाजी ३५ वर्षिय डोर बहादुर उपरकोटी र भारत घर बताउने अन्दाजी २८ वर्षिय मुकेश शर्मा छन् । नेपालबाट अवैध रुपले प्र.२–०४–००१ च ००९३ नम्बरको पिकअप गाडीमा राखेर भारततर्फ लैजान लागेको एक सय क्यूफिट काठ र एक थान बक्स पलंगसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरादम काठ तथा गाडीसहित आवश्यक कारबाहीको लागि डिबिजन वन कार्यालय लालबन्दी सर्लाहीमा बुझाइएको छ । यसैगरी सोही जिल्लाको हरिपुर नगरपालिका–३ धनकौलाबाट असार २१ गते करीव ९७ लाख २० हजार रुपैयाँ बराबरको कत्ताकपडा बरामद गरिएको छ ।
सोही ठाउँको कपडा पसलमा उक्त लत्ताकपडा अवैध रुपले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ ।