काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका–१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका–६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रीम विक्रम तिमोथी, काठमाडौं महानगरपालिका–१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय दिपक चन्द्र गौतम, काठमाडौं महानगरपालिका–२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प्रसाद काफ्ले, काठमाडौं महानगरपालिका–११ बस्ने रूपन्देही घर भएकी ४० वर्षीया रूपा सुनार र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने जुम्ला घर भएका २९ वर्षीय रमेश स्वाँर रहेका छन् ।
पक्राउ मध्ये टिकाले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रूपैयाँ, अग्रीम विक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रूपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रूपैयाँ, धन प्रसादले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रमेशले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टिकालाई काठमाडौं महानगरपालिका–२६ बाट शुक्रबार, सरितालाई काठमाडौं महानगरपालिका–२८ बाट आइतबार तथा अग्रीम विक्रमलाई टोखा नगरपालिका–६ बाट, दिपक चन्द्रलाई काठमाडौं महानगरपालिका–१२ बाट, धन प्रसाद र रूपालाई काठमाडौं महानगरपालिका–२६ बाट एवं रमेशलाई काठमाडौं महानगरपालिका–१५ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।