काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारलाई प्रेस गतिविधि रोक्न ७ दिने अल्टिमेटम दिएको छ र सात दिनभित्र नसच्चाए सिंहदरबार केन्द्रित आन्दोलनसहित अन्र्तराष्ट्रिय मिडिया मिसनको विषयमा अग्रसर हुने घोषणा गरेको छ ।
महासंघको प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसियट्स अध्यक्षहरूको राष्ट्रिय सम्मेलनबाट जारी घोषणा पत्रमार्फत उक्त घोषणा गरिएको हो । बालेन सरकार गठन भएपछि मिडियामा सूचना संकुचन, सेल्फ सेन्सरसीप सरकारी सूचना तथा विज्ञापनमा विभेद, पत्रकारको भौतिक असुरक्षा विद्युतीय कारोबार ऐनअन्र्तरगत पत्रकारलाई धरपकड गर्ने, धम्की दिने जस्ता कार्यहरू भइरहेको भन्दै महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
त्यसै सिलसिलामा महासंघले यही असार २१ गते प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसियट्स अध्यक्षहरूको राष्ट्रिय सम्मेलन बोलाएको थियो । र त्यसको प्रमुख अतिथि बनाइएका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले आफू वार्ताको टेवलबाट समस्या समाधान गर्न तयार रहेको घोषणा गरेपछि महासंघले सहमति गर्न ७ दिनको अल्टिमेटम दिएको हो ।