जकार्ता । भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । यसअन्तर्गत भारतले इन्डोनेसियालाई ब्रह्मोस लामो दूरीको क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने सम्झौता भएको भारतीय पक्षले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीनदिने राजकीय भ्रमणका क्रममा जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भएको वार्तापछि उक्त सहमति सार्वजनिक गरिएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ब्रह्मोस क्षेप्यास्त्र प्रणालीमा सहकार्यसम्बन्धी सम्झौता भएको जानकारी दिनुभएको छ । साथै, दुवै देशबीच हावाबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रणालीसम्बन्धी प्रविधि तथा रक्षा क्षमता अभिवृद्धिका लागि पनि सहकार्य गर्ने सहमति भएको उनले बताए । सम्झौताका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।