काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–९ बस्ने लमजुङ घर भएका ४५ वर्षीय पूर्ण बहादुर दुरा, काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा घर भएकी ४२ वर्षीया कमला खत्री, ललितपुर महालक्ष्मी नगरपालिका–१३ बस्ने सुर्खेत घर भएकी २४ वर्षीया सरस्वती गिरी, भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने दोलखा घर भएका २७ वर्षीय राम कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने बागलुङ घर भएका ३७ वर्षीय अमर सिंह घर्ती रहेका छन् ।
पक्राउमध्ये पूर्ण बहादुरले पोल्यान्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ, कमलाले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४५ हजार रूपैयाँ, सरस्वतीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, राम कुमारले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्ण बहादुरलाई काठमाडौं महानगरपालिका–२८ बाट, कमलालाई काठमाडौं महानगरपालिका–३२ बाट सरस्वतीलाई महालक्ष्मी नगरपालिका–१३ बाट सोमबार तथा राम कुमारलाई काठमाडौं महानगरपालिका–२२ बाट र अमर सिंहलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।