काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता नियन्त्रणमा राख्नको लागि बुधबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (च)’ जारी गरिएको हो । एक वर्ष अवधिको यो ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत गरिएको हो ।
यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण भएको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ । यो ऋणपत्रमा न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँकै गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था तोकिएको थियो । ऋणपत्रको परिपक्व हुने अवधि एक वर्षको रहेको छ भने साँवा रकम २०८४ असार २४ गते फिर्ता गरिनेछ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि मात्र बिक्री गरिएको हो । ऋणपत्र खरिदको लागि एउटै सहभागीले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्नसक्ने व्यवस्था गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।