काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका कलेजका लागि कडा मापदण्डसहितको नयाँ नियमावली स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३’ स्वीकृत गरेसँगै यस्ता कलेज अब नयाँ व्यवस्थाअनुसार सञ्चालन हुनुपर्ने भएको छ ।
नियमावलीअनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय क्यूएस वल्र्ड युनिभर्सिटी यार्किङ वा टाइम्स हायर एजुकेसन वल्र्ड युनिभर्सिटी र्यांिकङको शीर्ष एक हजारभित्र परेको हुनुपर्नेछ । यसैगरी सम्बन्धन लिने नेपाली कलेजले विश्वविद्यालय अनुदान आयोगबाट क्वालिटी एस्योरेन्स एन्ड एक्रेडिटेसन प्राप्त गरेको हुनुपर्ने छ । सरकारले विद्यार्थी भर्नामा पनि नयाँ मापदण्ड लागू गरेको छ । सो अनुसार अब प्रत्येक सेक्सनमा अधिकतम ३५ जना विद्यार्थी मात्र भर्ना गर्न पाइनेछ र एक शैक्षिक वर्षमा दुईभन्दा बढी इन्टेक सञ्चालन गर्न पाइने छैन । साथै, विदेशी लगानी भएका तथा विदेशी सम्बन्धन प्राप्त कलेजले कुल विद्यार्थीको २० प्रतिशत र स्वदेशी लगानी भएका कलेजले १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।
नियमावली अनुसार स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न कम्तीमा तीन जना पीएचडी गरेका पूर्णकालीन प्राध्यापक अनिवार्य हुनुपर्ने छ । एउटा कलेजले आठभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाउने र एउटै विदेशी विश्वविद्यालयको मात्र सम्बन्धन लिन पाउने व्यवस्था पनि सरकारले गरेको छ । सरकारले तोकिएका मापदण्ड पूरा नगर्ने कलेजको सम्बन्धन वा सञ्चालन अनुमति खारेज गर्न सकिने प्रावधानसमेत राखेको छ । पछिल्ला वर्षहरूमा विदेशी सम्बन्धनका कलेजको संख्या र विद्यार्थी दुवै बढ्दै गएको अवस्थामा नयाँ नियमावलीले गुणस्तर, पारदर्शिता र प्रभावकारी नियमन सुनिश्चित गर्ने सरकारको भनाइ छ ।