पर्यटन क्षेत्रमा विविधिकरण भएका विश्वका केही देशमा नेपाल पनि पर्छ भन्न सकिन्छ । किनभने, नेपालमा पर्वतारोहण गर्नका लागि मात्रै विश्वकै सबैभन्दा अग्लो हिमाल (८८४८.८६ मिटर) ‘सगरमाथा–चोमोलुङमा–एभरेस्ट’देखि लिएर ५,५०० मिटरभन्दा माथिका ४७६ वटा हिमाल नेपाल सरकारले पटक–पटक गरेर स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्नलाई खुला गरेको छ । स्मरणीय छ पछिल्लो पटक २०८१ सालको पुसमा नेपाल सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको थियो । त्यसअघि स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न खुला गरिएका हिमालको संख्या ४१९ वटा रहेको थियो ।
समग्र पर्यटन क्षेत्रको कुरो गर्दा के देखिन्छ भने, विश्व पर्यटनमा पर्वतारोहण पनि सजिलैसँग धेरै आय आर्जन गर्न सकिने माध्यमका रुपममा देखिन्छ । हुन पनि कुनै पनि देशमा पर्वतारोहीले सरकारलाई तिर्ने सलामी दस्तुर, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई तिर्ने शुल्क, सरदार, क्लाइम्बिङ शेर्पा, कुक, हाइ उल्टिच्युट पोर्टर, किचन स्टाफ, भरियालगायत अन्य स्टाफलाई दिने तलबका साथै भत्ता एवं प्रकारले पर्वतारोहीका सदस्यले खाने खाना र उनीहरूले लगाउने नाना अनि पर्वतारोहणका क्रममा चाहिने सरसामान (इक्युप्मेन्ट), बीमालगायत धेरै चिजबिजमा ठूलो परिणाममा रकम खर्च गर्ने गरेका छन् । त्यसैले जुनसुकै देशका लागि पनि अन्य पर्यटनका अन्य क्षेत्र हेरिकन पर्वतारोहण पर्यटन प्रमुख आमदानीको स्रोतका रुपमा रहने गरेको देखिन्छ । त्यसपछि चाहिँ अरु पर्यटन क्षेत्र हेरिकन आय स्रोतको प्रमुख माध्यमका रुपममा सभा, सम्मलेन, बैठक, प्रदर्शनी आदिलाई लिने गरिन्छ । सभा, सम्मेलन, बैठक, प्रदर्शनी आदिलाई अंग्रेजीमा संक्षेपीकरण गर्दै दिईने छोटरी नाम हो ‘माइस टुरिज्म ।’ यसको अंग्रेजी भाषामा पूर्ण रुप वा भनौं नाम हरहेको छ, ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिविसन ।’ ‘माइस टुरिज्म’लाई नेपाली भाषामा ‘सभा, सम्मेलन, बैठक, प्रोत्साहन र प्रदर्शनी’ नाम दिन सकिन्छ । अर्थात् नेपाली भाषामा छोटरी नाम ‘ससबैप्रप्र’ नाम राख्ने हो कि ?
हुन पनि अहिलेसम्मको अनुभव र तथ्य–तथ्याङ्कअनुसार ‘माइस टुरिज्म’ले धेरै राम्रो आमदानी गरिरहेको छ । त्यसो हुनुमा ‘बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनीमा जाने पर्यटकले प्रशस्त खर्च गर्न सक्ने क्षमता राखेका हुन्छन् । फलतः विश्वका धेरै दशले ‘माइस टुरिज्म’का लागि प्रवर्द्धन गरिरहेका छन् । ‘माइस टुरिज्म’लाई प्रोत्साहन दिई रहेका छन् । विश्व पर्यटन जगतमा विदेशी पर्यटकको संख्या बढाउनुका साथै खर्चिला पर्यटकको संख्यासमेत बढाउन भनेर धेरै देशले अनेक खालका नयाँ नयाँ गतिविधिहरू गरिरहेका छन् । त्यसमा पनि विशेषतः धेरै जसो देशले चाहिँ ‘माइस टुरिज्म’का लागि सक्दो प्रवर्द्धन गरिरहेका छन्, आफ्नो देशमा ‘माइस टुरिज्म’ आयोजना गर्न लालायित छन् । धेरै देशले खास गरिकन आर्थिक रुपमा सम्पन्न भई सकेका देशहरूले समेत आफ्नो देशमा विश्वभरिबाट ‘माइस टुरिज्म’ भित्र्याउन वा भनौं ‘माइस टुरिज्म’लाई आकर्षित गर्नका लागि लागी परेका छन् । केही देशले त्यस कार्यका लागि लामो समय अघिदेखि प्रचारप्रसारको नयाँ तरिका अपनाएर श्रृङ्खलाबद्ध ढंगले अभियान नै चलाइरहेका छन् ।
यो लेख लेख्नुको खास आशय चाहिँ अब हाम्रो देश नेपालले पनि ‘माइस टुरिज्म’का लागि विशेष ध्यान दिऊँ, पहल गरौं भन्ने रहेको छ । माथि नै भनियो कि, नेपाल पर्वतारोहण पर्यटनका लागि प्रमुख गन्तव्य नै हो । साथै नेपालमा पदयात्रा पर्यटनमा पनि राम्रै रहेको छ, विश्वका प्रमुख गन्तव्यहरू मध्येमा नै पर्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरो हो । त्यस बाहेक नेपालमा धेरथोर रुपमा विदेशी पर्यटकहरू जलयात्रा, जंगल सफारी, सिकार पर्यटन, माउन्टेन फ्लाईट, प्यारासुट जम्प, बञ्जी जम्पिङ, बालुनिङ, कायाकिङ, क्यानोइङ, साईक्लिङ, बाइक टुर, साइट सिन, सिटी टुर, गाउँ पर्यटन, जीप फ्लाइङ, बाइकिङ टुर, कल्चरल टुर, भाषा अध्ययन, स्की पर्यटन, रक क्लाइम्बिङ, बर्ड वाचिङ टुर, योग–योगा पर्यटन आदिका लागि पनि आउने गरेका छन् ।
त्यसैले अब हामीले विश्वभरिका ठूल–ठूला कम्पनीहरू, कर्पोरेट हाउसहरू, पर्यटनसम्बन्धी ट्राभल तथा ट्रेकिङ एजेन्सी (कम्पनी)हरू, उद्योग एवं कल कारखानाका मालिक तथा मजदुरहरू, सूचना प्रविधिसम्बन्धी कम्पनीका सञ्चालकहरू, संयुक्त राष्ट्र संघ मातहत रहेका निकायहरू, दातृ निकायहरूका साथै अन्य सबै खाले संघ र संस्थाका साथै विभिन्न निकायहरूलाई ‘तपाईहरूको वार्षिक साधारणसभा, सम्मेलन, कार्यकारी समितिको बैठक, प्रदर्शनी, इन्सेन्टिभ दिने घोषणा आदि अर्थात् ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, डिस्कोर्स र एक्जिविसन’ हिमालय र बुद्ध जन्मेको देश नेपालमा गर्नु होस्, नयाँ अनुभव र अनुभूति लिनु होस्’ भन्ने नयाँ नाराका साथ माइस टुरिज्ममा हात हाल्ने हो कि त ? निश्चय नै विश्वका कुनै पनि देशका संघ–संस्था, कम्पनी, कर्पोरेट हाउस, सरकारी कार्यलय, दातृ निकाय, आईएनजीओ, एनजीओ, व्यापारिक निकाय, इभेन्ट आयोजक आदिलाई विश्वकै सबैभन्दा अग्लो हिमाल (८८४८.८६ मिटर) सगरमाथा–चोमोलुङमा–एभरेस्ट सहित लगभग १७ सय वटा साना ठूला हिमाल भएको हिमालको देश अनि विश्व शान्तिका अग्र दूत गौतम बुद्ध जन्मेको देशमा आफ्नो संघ–संस्था, कम्पनी, कर्पोरेट हाउस, सरकारी कार्यलय, दातृ निकाय, आईएनजीओ, एनजीओ, व्यापारिक निकाय, इभेन्ट आयोजना आदि गर्न नेपाल आउनु किन रहर नलाग्दो हो ?
त्यसैले हामीले पनि विश्वभरिका ठूल–ठूला कम्पनीहरू, कर्पोरेट हाउसहरू, पर्यटनसम्बन्धी ट्राभल तथा ट्रेकिङ एजेन्सी (कम्पनी) हरू, उद्योग एवं कल कारखानाका मालिक तथा मजदुरहरू, सूचना प्रविधिसम्बन्धी कम्पनीका सञ्चालकहरू, संयुक्त राष्ट्र संघ मातहत रहेका निकायहरू, दातृ निकायहरूका साथै अन्य सबै खाले संघ र संस्थाका साथै विभिन्न निकायहरूलाई ‘तपाईहरूको वार्षिक साधारणसभा, सम्मेलन, कार्यकारी समितिकिो बैठक, प्रदर्शनी, इन्सेन्टिभ दिने घोषणा आदि अर्थात् ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, डिस्कोर्स र एक्जिविसन’ हिमालय र बुद्ध जन्मेको देश नेपालमा गर्नु होस्, नयाँ अनुभव र अनुभूति लिनु होस्’ भन्ने नयाँ नाराका साथ माइसआफ्नो सभा, सम्मेलन, प्रोत्साहन कार्यक्रम, प्रदर्शनीदेखि लिएर अन्य कार्यक्रमहरू गर्नु होस् भनेर किन आग्रह नगर्ने, उनीहरूलाई किन प्रोत्साहन नगर्ने ? हाल विश्वका विभिन्न देशले माइस टुरिज्मबाट ठूलो फाइदा लिई रहेका छन् । जस्तै अफ्रिका महादेशको मोरोक्को भन्ने देशलाई एक उदाहरणका रुपमा लिन सकिन्छ । मोरोक्कोले आफ्नो देशको माराकेस र कासाब्लान्का सहरलाई मुख्य गन्तव्यका रुपमा लिएको छ भने अफ्रिका महादेशकै दक्षिण अफ्रिकाको दर्बान डरबान सहरमा पनि माइस टुरिज्म आयोजकहरूको राम्रो उपस्थिति रहने गरेको छ । त्यस्तै अफ्रिका महदेशकै इजिप्टको राजधानीसमेत रहेको कायरो सहरमा पनि माइस टुरिज्मले राम्रोसँग फस्टाउने मौका पाइरहेको देखिन्छ । यता एसिया तथा प्रशान्त क्षेत्रमा पर्ने सिंगापुर नामक धेरै सानो देशले पनि धेरै राम्रोसँग माइस टुरिज्मबाट फाइदा लिई रहेको छ भने एसिया महादेशकै थाइल्यान्डले पनि माइस टुरिज्मलाई राम्रैसँग आकर्षित गरिहेको छ ।
थोरै समयमा धेरै राम्रो आमादानी हुने पर्यटन अर्थात् माइस टुरिज्मको कुरो गर्दाखेरि विगत लामो समयदेखि युरोप महादेशका विभिन्न देशहरूले माइस टुरिज्ममा अग्रणी स्थान लिई रहेका छन् । त्यसमा पनि अस्ट्रियाको भियना, स्पेनको बार्सिलोना र म्याड्रिट प्रमुख गन्तव्यका रुपमा रहेका छन् । खासमा स्पेन देशको बार्सिलोना सहर र म्याड्रिट सहर विश्वभरिकै माइस टुरिज्मको उत्कृष्ट एवं प्रमुख केन्द्रका रुपमा स्थापित भएको छ । स्मरणीय छ, स्पेनको म्याड्रिट सहरले सन् २०२१ मा ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिविसन’का लागि उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । उता दक्षिण अमेरिका महादेशको अर्जेन्टिना देशको ब्युनर्स आयर्स र कोस्टारिका देश पनि माइस टुरिज्मका लागि रोजाइको गन्तव्यमा पर्ने गरेको छ । त्यस्तै गरेर उत्तर अमेरिका महादेशको संयुक्त राज्य अमेरिको लस भेगास सहर र डल्लास सहर पनि माइस टुरिज्मका लागि छनौटमा पर्ने गरेको देखिन्छ । त्यस्तै गरेर मध्य पूर्वी क्षेत्रको युनाइटेड अरब इमिरेट्स (यूएई) देशको दुबइ सहर र यूएईको केन्द्रीय राजधानी सहरका रुपमा रहेको अबुधावी सहर पनि माइस टुरिज्मको गन्तव्य बन्दै गएको छ ।
माथि उल्लेख गरिएका अधिकांश देशमा ‘माइस टुरिज्म’लाई आकर्षित गर्ने चिबिचहरूमा मुख्यतया समुन्द्र प्रमुख आकर्षणका रुपमा रहेको छ भने केही देशमा प्राचीन सहर र स्मारकहरूले पनि आकर्षित गर्ने गरेको देखिन्छ । तर ती देशमा भौतिक पूर्वाधार र यातायातको राम्रो सेवा सुविधा चाहिँ अन्यन्तै सहजताका साथ उपलब्ध रहेको छ । यत हाम्रो देश नेपालमा भौतिक पूर्वाधार र यातायातको सेवा सुविधा त्यति सहजताका साथ र राम्रोसँग उपलब्ध गराउन नसके तापनि प्राकृतिक कुरोहरूका साथै प्राचीन सम्पदाहरूको प्रचार प्रसार एवं तिनको ब्रान्डिङ गरेर ‘माइस टुरिज्म’ लाई आकर्षित गर्न सकिन्छ भन्ने लाग्छ, यो पङ्तिकारलाई ।
हाम्रो देश नेपालमा पनि विस्तारै भौतिक पूर्वाधार र यातायातको राम्रो सेवा सुविधा उपलब्ध गराउन सकेमा ‘माइस टुरिज्म’ले छिट्टै फस्टाउने मौका पाउने थियो कि ? किनभने हामीसँग त प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू प्र्रशस्तै रहेका छन् । नेपालमा माइस टुरिज्मका लागि नगरकोट, चन्द्रागिरि, दामन, पोखरा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको ल्होमन्थाङ, डोल्पा जिल्लाको फोकसुन्डो ताल, ‘चोमोलुङ–सगरमाथा–एभरेस्ट’ हिमालको बेस क्याम्प, एभरेस्ट होटेल, गोक्यो, गोरक्सेप एवं प्रकारले कञ्चनजंघा हिमालको उत्तरी बेस क्याप र दक्षिणी बेस क्याम्प, घुन्सा अनि मुगु जिल्लाको रारा ताल क्षेत्रका साथै जुम्ला जिल्लाको सिंजा उपत्यका आदिमा ‘माइस टुरिज्म’का लागि प्रवद्धन गर्न सकिन्छ । माथिका गन्तव्यहरू विश्वभरिका ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, डिस्कोर्स र एक्जिविसन’ गर्न चाहने अर्थात् देश र ती देशका वित्तीय संघ–संस्था, सार्वजनिक निकाय आदिका लागि नेपाल एक आकर्षक र भर्जिन गन्तव्य हुन सक्ने देखिन्छ ।