काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलालघाट शाखा र चनौली शाखामार्फत वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्नुका साथै शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले विद्यार्थी, शिक्षक तथा स्थानीय सर्वसाधारणको सहभागितामा कार्यक्रम आयोजना गरेको हो ।
दोलालघाट शाखाले दुलालेश्वर माध्यमिक विद्यालय काभ्रेमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बचत, बैंकिङ सेवा, डिजिटल बैंकिङ, सुरक्षित वित्तीय कारोबार तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरेको थियो । साथै विद्यालयको शैक्षिक वातावरणलाई थप सहज बनाउन सबै कक्षाकोठाका लागि फ्यान तथा विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी सामग्री हस्तान्तरण गरिएको थियो । त्यसैगरी, चनौली शाखाले गुन्जानगर माध्यमिक विद्यालय चितवनमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी तथा शिक्षकहरूलाई बैंकिङ सेवाको महत्व, नियमित बचत, डिजिटल भुक्तानी प्रणाली तथा वित्तीय योजनाबारे जानकारी गराएको थियो। कार्यक्रममा विद्यालयलाई स्टेसनरी सामग्री तथा खेलकुद सामग्री हस्तान्तरण गरी विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग पु¥याइएको थियो ।
कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञानसँगै बैंकले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका थिए । सिन्धु विकास बैंकले आगामी दिनहरूमा पनि समुदायको आर्थिक सशक्तीकरण, वित्तीय पहुँच विस्तार तथा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।