राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार चार घण्टाभन्दा बढी समयसम्म लामो छलफल भएको छ।
प्रधानमन्त्री शाह बूढानीलकण्ठस्थित लामिछाने निवासमा बिहान करिब ११:१५ बजे पुगेका थिए। उनीहरूबीच भएको भेटवार्ता करिब साढे चार घण्टा चलेको थियो। प्रधानमन्त्री शाह अपराह्न करिब ३:१५ बजे मात्रै निवासबाट बाहिरिएका थिए।
स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था, सुकुमवासी समस्या समाधान, रास्वपाको संगठन विस्तार तथा पार्टीका बाँकी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनलगायत विषयमा विस्तृत छलफल भएको थियो।
हालै चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनपछि मनोनयन हुन बाँकी रहेका ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषय पनि छलफलको मुख्य एजेन्डा रहेको बताइएको छ।
यद्यपि, भेटवार्ताबारे रास्वपा वा प्रधानमन्त्रीको सचिवालयले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।