वर्तमान समयमा नेपाल एक ऐतिहासिक र अत्यन्तै जटिल जनसांख्यिक सङ्क्रमणबाट गुज्रिरहेको छ । तसर्थ देशको इतिहासमै पहिलोपटक काम गर्ने उमेर समूहमा १५ देखि ६४ वर्षसम्मको जनसंख्या आश्रित जनसंख्याको तुलनामा सबैभन्दा उच्च विन्दुमा पुगेको छ । जनसंख्याशास्त्रीहरू यसलाई जनसांख्यिक लाभांश वा आर्थिक विकासको सुनौलो झ्याल या पनि भन्दछन् । तर, विडम्बना के छ भने यो सुनौलो अवसरलाई मुलुकभित्रै उपयोग गर्नुको सट्टा राष्ट्रले दुईवटा ठूला र विपरीत प्रकृतिका चुनौतीहरू एकैसाथ सामना गरिरहेको छ । जसमा भन्ने नै हो भने तीव्र युवा पलायन र वृद्ध जनसंख्यामा तीव्र वृद्धि हो । यसर्थ एकातर्फ, देशका सक्षम, ऊर्जावान् र बौद्धिक युवाहरू दैनिक हजारौँको संख्यामा विदेशिइरहेका छन् भने अर्कोतर्फ देशभित्र ज्येष्ठ नागरिकहरूको संख्या र औसत आयु तीव्र गतिमा बढ्दै गएको छ । यो दोहोरो प्रवृत्तिले नेपालको आर्थिक, सामाजिक, पारिवारिक र सांस्कृतिक ढाँचामा दूरगामी संकट निम्त्याइरहेको छ ।
युवा पलायनको ताजा तथ्यांक र वर्तमान प्रवृत्ति
मुलुकमा युवा पलायन अब रहर वा सामान्य वैदेशिक रोजगारीको विषय मात्र रहेन, यो एक राष्ट्रिय महामारी जस्तै बनेको छ । फलतः देशका ग्रामीण भेगदेखि सहरका ठूला कलेजहरू हेर्ने हो भने युवा वर्गको पहिलो रोजाइ र साझा लक्ष्य नै जसरी पनि विदेशिने देखिन्छ । हालैका आधिकारिक तथा मन्त्रालयगत तथ्यांकहरूले यो भयावह स्थितिलाई प्रष्ट पार्छन् । यसमा भन्ने नै हो भने हाल औसतमा दैनिक तीन हजारभन्दा बढी नेपाली युवाहरू रोजगारी र शिक्षाका लागि अन्तर्राष्ट्रिय विमानस्थल वा सीमा नाकाबाट बाहिरिइरहेका छन् । यसलाई पनि वार्षिक पलायनमा हेर्ने हो भने आर्थिक वर्षहरूमा अध्ययन र रोजगारीका लागि मात्रै वार्षिक ८ देखि ९ लाख नेपालीहरूले देश छाडिरहेका छन् । हालैका तथ्यांक अनुसार विगत तीन वर्षमा मात्रै २५ लाखभन्दा बढी नेपाली युवाहरू विशेषगरी २० देखि ३५ वर्ष उमेर समूहका विदेशिएका छन् । त्यसरी नै शैक्षिक क्षेत्रमा पलायन हुने पनि त्यतिकै रहेको छन् । जब कि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ को अन्त्यसम्म एकै वर्षमा १ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरूले विदेशमा उच्च शिक्षा अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट लिएका छन् । यो संख्याले नेपालको उच्च शिक्षा प्रणाली र देशको भविष्यप्रतिको युवा अविश्वासलाई दर्शाउँछ । त्यसरी नै अध्यागमन विभागको हालैको प्रतिवेदनअनुसार वैदेशिक रोजगारी, स्थायी बसोबास र अध्ययनका लागि बाहिरिने कुल जनसंख्या गुणात्मक रूपमा बढ्दै गएको छ ।
दोहोरो चुनौतीका बहुआयामिक प्रभाव र संकटहरू
यो असाधारण जनसांख्यिक परिवर्तनले नेपालमा अल्पकालीन र दीर्घकालीन दुवै प्रकृतिका गम्भीर चुनौतीहरू थपेको छ । यसको लागि पहिलो बुंदामा आर्थिक प्रभाव र श्रमशक्तिको अभाव पनि हो । जसलेगर्दा गाउँ–गाउँबाट युवा शक्ति पलायन हुँदा नेपालको कृषि क्षेत्र र स्थानीय उत्पादन पूर्ण रूपमा ध्वस्त हुने अवस्थामा पुगेको छ । त्यसरी नै दोस्रोमा बाँझो जमिन र पुरानो कृषि प्रणालीले गर्दा नेपालका अधिकांश ग्रामीण भूभागमा खेतबारी बाँझै छन् । कृषि कार्यमा संलग्न जनसंख्या बुढ्यौली उमेरको छ । जसमा निर्माण क्षेत्र, कलकारखाना र सेवा क्षेत्रमा समेत दक्ष र अर्ध–दक्ष श्रमिकको चरम अभाव हुन थालेको छ । तेस्रोमा ब्रेन ड्रेन र बौद्धिक खडेरी पनि पर्न लागेको छ । देशले ठूलो लगानी गरेर उत्पादन गरेका चिकित्सक, इन्जिनियर, नर्स, आईटी विज्ञ र प्राध्यापकहरू विदेश पलायन भइरहेका छन् । यसले नेपालको सेवा प्रवाह र विकास निर्माणको गुणस्तरलाई कमजोर बनाएको छ । देश नवप्रवर्तन र रचनात्मक सोचबाट वञ्चित हुँदै गएको छ । यसैगरी चौंथोमा सामाजिक र पारिवारिक संरचनामा विचलन भई रहेको छ । जसले नेपाली समाजको परम्परागत संयुक्त परिवारको ढाँचा भत्किएको छ । गाउँ र सहरका कैयौँ घरहरूमा केवल वृद्धवृद्धाहरू मात्र बाँकी छन् । जसलाई समाजशास्त्रमा एम्प्टी नेस्ट (रिताम्मे ओडार÷घर) भनिन्छ । छैटौंमा हेरचाहको संकटले गर्दा बिरामी पर्दा अस्पताल लैजाने, ओखतीमूलो गर्ने वा मृत्यु हुँदा दागबत्ती दिने युवासमेत घरमा नहुँदा ज्येष्ठ नागरिकहरू चरम मानसिक तनाव, एक्लोपन र डिप्रेसनको सिकार भइरहेका छन् । र सातौंमा लैङ्गिक आयाममा ज्येष्ठ नागरिकहरूमा पनि महिलाको संख्या बढी छ । जो आर्थिक रूपमा पुरुषको तुलनामा बढी परनिर्भर र निरक्षर करिब ८५ प्रतिशत वृद्ध महिला निरक्षर छन् ।
राज्यमाथि बढ्दो वित्तीय भार
देशभित्र काम गर्ने युवाहरू विदेश जाँदा कर तिर्ने र सामाजिक सुरक्षा कोषमा योगदान गर्ने जनसंख्या घट्दै छ । अर्कोतर्फ, वृद्ध भत्ता (ज्येष्ठ नागरिक भत्ता) र स्वास्थ्य उपचार खर्चको माग बढेको छ । हालको १६.५ प्रतिशतको वृद्ध आश्रित अनुपात आगामी दशकमा दोब्बर हुने निश्चित छ । जसले राज्यको ढुकुटीमाथि ठूलो आर्थिक दबाब सिर्जना गर्नेछ ।
युवा पलायनका मुख्य कारणहरू
मुलुकमा शिक्षा र रोजगारीबीचको खाडललाई अवलोकन गर्ने हो भने पनि डिग्री हासिल गरिसकेपछि पनि योग्यता अनुसारको रोजगारी नपाइनु र पाइहाले पनि जीवन धान्न धौ–धौ हुने न्यून पारिश्रमिक हुनु हो । जसमा राजनीतिक अस्थिरता र नीतिगत अन्योलले गर्दा राजनीतिक खिचातानी, उद्योगधन्दाको कमजोर विकास र देशभित्र भविष्य सुरक्षित नदेख्नु हो । त्यस्तै विदेशी आकर्षण बढ्दो रुपमा विकसित देशहरूले दिने वर्क भिसा, पीआर (स्थायी बासिन्दा) को अवसर र सामाजिक सुरक्षाले नेपाली युवाहरूलाई जोडले आकर्षित गरिरहेको छ ।
वृद्ध जनसंख्या वृद्धिको ताजा तथ्यांक र प्रवृत्ति
नेपालको जनसंख्या तीव्र गतिमा बुढ्यौलीतर्फ धकेलिँदै छ । राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय जनगणना २०७८ र हालैका जनसांख्यिक प्रक्षेपणहरूले नेपालको उमेर संरचनामा आएको नाटकीय परिवर्तनलाई औंल्याएका छन् । त्यसरी नै ज्येष्ठ नागरिकको अनुपातलाई अवलोकन गर्ने हो भने जनगणना विसं. २०७८ अनुसार नेपालमा ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या कुल जनसंख्याको १०.२१ प्रतिशत अर्थात करिब २९ लाख ७७ हजार पुगेको छ । यो दर विसं. २०६८ मा ८.१ प्रतिशत र विसं. २०५८ मा ६.५ प्रतिशत मात्रै थियो । त्यसरी नै वृद्धिदरलाई हेर्ने हो भने नेपालको कुल जनसंख्या वृद्धिदर वार्षिक ०.९२ प्रतिशतमा झरेको बेला, वृद्ध जनसंख्याको वृद्धिदर भने वार्षिक ३.२९ प्रतिशत छ । यसको अर्थ कुल जनसंख्याभन्दा ज्येष्ठ नागरिकको संख्या झण्डै साढे तीन गुणा बढी गतिमा बढिरहेको छ । त्यसरी नै प्रजनन दरमा ह्रास आएको छ । नेपालको कुल प्रजनन दर हाल १.९ प्रति महिलामा झरेको छ । जुन जनसंख्या प्रतिस्थापन स्तर २.१) भन्दा निकै कम हो । जब कि बच्चा जन्माउने दर घट्दै जानु र युवाहरू बाहिरिनुले देशको आधारभूत जनसंख्या नै खुम्चिँदै छ र औसत आयुमा सुधारलाई हेर्ने हो भने स्वास्थ्य सेवामा पहुँच र चेतनाका कारण नेपालीको औसत आयु ७१.३ वर्ष (महिलाको करिब ७३ र पुरुषको ६९) पुगेको छ । जसले गर्दा ज्येष्ठ नागरिकको जीवनकाल लम्बिएको छ ।
सुनौलो अवसर गुम्ने खतरा
कुनै पनि देशले जनसांख्यिक इतिहासमा कामकाजी उमेरको जनसंख्या यति धेरै पाएको अवसर विरलै पाउँछन् । वस्तुतः दक्षिण कोरिया, मलेसिया र चीनले यही बिन्डो अफ अपर्चुनिटीको सही उपयोग गरेर आर्थिक फड्को मारेका थिए । नेपालको हकमा यो झ्याल आगामी २० देखि २५ वर्ष मात्र खुला रहने प्रक्षेपण छ । तर, युवाहरूलाई देशभित्र रोक्न नसक्दा नेपालले यो लाभांश लिनुको सट्टा उल्टै जनसांख्यिक संकट व्यहोर्नुपर्ने जोखिम बढेको छ । हामी समृद्ध नहुँदै हाम्रो देश बुढो हुने खतरा प्रष्ट देखिएको छ ।
निष्कर्ष
समग्रमा भन्नुपर्दा नेपालको युवा पलायन र वृद्ध जनसंख्याको समानान्तर वृद्धि सामान्य सामाजिक परिवर्तन मात्र नभएर, यो राष्ट्रको अस्तित्व र विकाससँग जोडिएको गम्भीर जनसांख्यिक संकट हो । मूलतः देशका युवाहरूलाई विदेश पठाएर रेमिट्यान्सको पैसाले वृद्धवृद्धालाई भत्ता बाँड्ने चक्र लामो समय चल्न सक्दैन । फलतः समय घर्किसकेको छैन, तर निकै कम छ । अतः राज्यले बेलैमा योजनाबद्ध नीति, राजनीतिक स्थिरता र आर्थिक प्याकेजमार्फत युवा जनशक्तिलाई स्वदेशमै रोक्न र ज्येष्ठ नागरिकहरूलाई सुरक्षित एवं मर्यादित जीवनयापनको प्रत्याभूति दिलाउन ठोस कदम चाल्नु आजको अनिवार्य आवश्यकता पनि हो ।