काठमाडौँ, इङ्ग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ।अमेरिकाको एटलान्टास्थित स्टेडियममा बुधबार बिहान भएको सेमिफाइनलमा अर्जेन्टिनाले पुनरागमन गर्दै रोमाञ्चक जित निकालेको हो। यससँगै अर्जेन्टिना लगातार दोस्रो संस्करणमा विश्वकपको फाइनलमा पुगेको छ। अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो।
खेलमा सुरुआती अग्रता भने इङ्ग्ल्यान्डले लिएको थियो। खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ग्ल्यान्डलाई १–० को अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याए।
निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए र टोलीलाई विश्वकप फाइनलमा पुर्याए। अब अर्जेन्टिनाले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।