विराटनगर । सुनसरी मोरङ औदोगिक करिडोरमा संचालन भइरहेका करिब एक दर्जन स्टिल उद्योगहरु भारत सरकारले गरेको एक निर्णयले संकटमा पुगेका छन् ।
भारत सरकारले स्टिल आयातमा सेफगार्ड ड्युटी अर्थात् (संरक्षणात्मक भन्सार महसुल) लागू गरेपछि नेपालका उद्योगहरु संटकमा परेका हुन् । हाल भारततर्फ नेपालको फलाम तथा स्टिल निर्यातमा धेरै नै ठूलो गिरावट आएको छ । चालू आर्थिक वर्षका ११ महिनामा नेपालबाट स्टिल निर्यात ६८.६७ प्रतिशतले घटेर ४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालले भारततर्फ १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको स्टिल निर्यात गरेको थियो । पछिल्लो समय भारतको नयाँ व्यापार नीतिका कारण एक वर्षमै नेपालले करिब १० अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात गुमाएको यहाँका उद्योगी बताउँछन् । उद्योगीका अनुसार निर्यात घट्दा सरकारी राजस्व, वैदेशिक मुद्रा आम्दानी र रोजगारीमा समेत नकारात्मक असर परेको छ । आगामी दिनमा भारतले थप आयात प्रतिबन्ध लगाउने सम्भावना रहेकाले नेपाली स्टिल उद्योग थप संकटमा पर्न सक्ने उद्योगीहरुको चिन्ता छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालित स्टिल उद्योगहरुको अर्बौंको लगानी खेर जाने र सयौँ मजदुरको रोजगारी खोसिने अवस्था सृजना हुन थालेको उनीहरुले बताए ।
भारतले गत डिसेम्बरदेखि केही स्टिल उत्पादनमा ११ देखि १२ प्रतिशतसम्मको तीनवर्षे सेफगार्ड ड्युटी लागू गरेको एक उद्योगीले जानकारी दिए । भारत सरकारले विशेषगरी यो व्यवस्था नेपालसहित चीन र भियतनामबाट हुने आयातमा लागू गरेको छ । नेपाली उद्योग अल्पविकसित मुलुक (एलडीसी) भएकाले भारत सरकारबाट यस्तो महसुल लगाउनु न्यायसंगत नभएको करिडोरका उद्योगी बताउँछन् । उनीहरूले नेपाल सरकारलाई भारत सरकारसँग तत्काल कुटनीतिक वार्ता गरी सेफगार्ड ड्युटी हटाउन पहल गर्न आग्रह पनि गरेका छन् । यस्ता व्यापारिक अवरोध समाधान गर्न सरकार–सरकार (जीटुजी) स्तरमा प्रभावकारी संवाद आवश्यक भएको उनीहरुको भनाइ छ । नेपालका स्टिल उद्योगले आगामी दिनमा अझ ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन नदिनका लागि नेपाल सरकारले अविलम्ब ठोस कदम चाली भारत सरकारसँग बार्ता गर्नुपर्ने करिडोरका उद्योगिहरुको माग छ ।