काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद्सम्बन्धी प्रकोप तथा विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी ११५५ सर्टकोड प्रयोग गरी एसएमएसमार्फत पठाइनेछ । वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात÷हिमआँधी, तातो हावाको लहर (लु), शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोट र डढेलो जस्ता प्रकोपहरुको पूर्वसूचना पठाइने सम्झौतामा उल्लेख छ ।
विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्रहरु तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरुका एसएमएस पोलिगनहरु जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने छ । सम्झौताअनुसार पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकालीलगायतका नदी तटीय क्षेत्र र अन्य स्थानीय तहको नक्सा वा जिल्लागत नक्सा वा आकस्मिक बाढी सम्भावित क्षेत्रहरु वा उपयुक्त कुनै बेसिनको नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराइनेछ । त्यसैगरी प्रकोपको प्रकृति, विस्तार क्षेत्र तथा त्यसको प्रभावस्तर अनुमान गर्न उपयुक्त हुने जिल्लागत नक्सा, स्थानीय तहगत नक्सा, विभिन्न स्थानका कुनै विशेष भूभाग समेटिएको नक्सा र अन्य उपयुक्त नक्सा समेत उपलब्ध गराइने छ ।
यससम्बन्धी एसएमएस सेवा नेपाल टेलिकमले विगतदेखि नै निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । यसका लागि टेलिकमले पहिलेदेखि नै ७ सय वटा सिम उपलब्ध गराइरहेकोमा अब थप १ सयवटा गरी ८ सयवटा डाटासहितको सिम निःशुल्क उपलब्ध गराउने छ । टेलिकम र जल तथा मौसम विज्ञान विभागमार्फत विगत २०७३ सालदेखि नै यस प्रकारको मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रवाह हुने यस प्रकारको पूर्वसूचनाबाट लाखौँ व्यक्तिहरु लाभान्वित भएका र भविष्यमा समेत लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।