काठमाडौं । टिकटकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना हुने सामग्रीबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार गर्ने घोषणा गरेको छ ।
कम्पनीले एआई–आधारित सामग्री पहिचान गर्न सहयोग गर्ने शैक्षिक सामग्री, स्पाम नियन्त्रणका लागि नयाँ प्रणाली तथा उद्योग साझेदारसँगको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ । कम्पनीका अनुसार आगामी केही साताभित्र नेपालमा एपभित्रै ‘एआई साक्षरता हब’ सञ्चालनमा आउनेछ । यसमार्फत प्रयोगकर्ताले एआईद्वारा सिर्जना गरिएका सामग्री चिन्ने, एआई उपकरण जिम्मेवारीपूर्वक प्रयोग गर्ने तथा डिजिटल सुरक्षासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । टिकटकले न्युज एन्ड मिडिया लिटरेसी एलायन्स (नामले) र डिपफेक अनुसन्धानकर्ता हेनरी अज्डरसँग सहकार्य गरी एआई साक्षरतासम्बन्धी व्यावहारिक गाइड पनि सार्वजनिक गरेको जनाएको छ । टिकटकका ग्लोबल पब्लिक पोलिसी टोलीका एआई प्रमुख टम वर्गिसले एआईको प्रयोगसँगै प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने उद्देश्यले शिक्षा, प्रविधि र साझेदारीमा लगानी बढाइएको बताए । कम्पनीले नोभेम्बर २०२५ मा सुरु गरेको एआई साक्षरता कार्यक्रमअन्तर्गत तयार भएका शैक्षिक सामग्रीले हालसम्म २० करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ । यस कार्यक्रमका लागि ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिएको कम्पनीको दाबी छ ।
यससँगै टिकटकले एआईमार्फत ठूलो परिमाणमा उत्पादन हुने स्पाम सामग्री नियन्त्रण गर्न थप उन्नत प्रणाली परीक्षण गर्ने जनाएको छ । कम्पनीका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा मात्रै ८ करोड ६० लाखभन्दा बढी नक्कली अकाउन्ट हटाइएको छ । नयाँ प्रणालीले विशेषगरी राजनीति, समसामयिक विषय, वित्तीय सल्लाह र स्वास्थ्यसम्बन्धी भ्रामक सामग्री फैलाउने गतिविधिमाथि निगरानी गर्नेछ । कम्पनीका अनुसार हालसम्म ३ अर्बभन्दा बढी भिडियोमा एआईसम्बन्धी लेबल राखिएको छ, जसले एआईबाट सिर्जना वा परिमार्जन गरिएका सामग्री पहिचान गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउनेछ । टिकटकले स्मार्ट स्पिल्ट, एआई आउटलाइन÷म्यानेज टपिक जस्ता एआई–आधारित सुविधामार्फत प्रयोगकर्तालाई आफूले हेर्ने एआई सामग्रीको मात्रा नियन्त्रण गर्ने विकल्पसमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।