काठमाडौं । सडकमा गोलभेँडा फ्याँकेर विरोधमा उत्रिएका किसानसँग कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले छलफल गरेकी छन् ।
बुधबार मन्त्रालयमा किसानले उठाएका गुनासा र मागबारे छलफल गर्दै मन्त्री चौधरीले कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने बताइन् । बिचौलियाको प्रभाव नियन्त्रण गर्न कृषि विधेयक अघि बढाइएको उनको भनाई छ । कृषि ऐन बनेपछि बिचौलियाको समस्या न्यूनीकरण हुने दाबी गर्दै उनले किसानलाई सबै उत्पादन बिक्रीका लागि अनिवार्य रूपमा कालीमाटी फलफूल तथा तरकारी बजारमै आउनुपर्ने अवस्था नरहने बताइन् । उनले स्थानीय हाटबजारमार्फत उत्पादन बिक्री गर्न किसानलाई आग्रह पनि गरिन् । ‘किसानका समस्या सुन्न र समाधानका लागि आवश्यक परे म किसानको खेतसम्म आउन तयार छु’, उनले भनिन् । आन्दोलनभन्दा संवाद र सहजीकरणबाट समाधान खोज्नुपर्नेमा पनि उनले जोड दिइन् । मन्त्री चौधरीले रासायनिक मलको सहज आपूर्तिका लागि मन्त्रालयले काम गरिरहेको बताइन् ।
मन्त्री चौधरीले किसानका पीडा र संघर्षलाई आफूले नजिकबाट बुझेको बताइन् । किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहने उनको भनाइ थियो । मन्त्रालयका अनुसार सरकारले उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिने जनाएको छ ।