काठमाडौं । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन सेक्युरिटिज प्रालिले निःशुल्क १० दिने अनलाइन सेयर तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार काठमाडौं उपत्यका बाहिर तथा नेपाल बाहिर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध रहेका लगानीकर्तालाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम गुगल मिटमार्फत दैनिक साँझ ७ः३० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन हुनेछ । तालिममा सेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फन्ड म्यानेजरहरूले सेयर छनोट गर्ने विधि, मार्जिन कारोबार (लिभरेज)को प्रयोग र जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध विभिन्न वित्तीय लगानीका साधन, भ्यालु इन्भेस्टिङ तथा मल्टिब्यागर सेयर पहिचान गर्ने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा प्राविधिक विश्लेषण (क्यान्डल, चार्ट, ट्रेन्ड, प्याटर्न र विभिन्न इन्डिकेटर) लगायतका विषय समेटिने जनाइएको छ ।
तालिमको अन्तिम चरणमा वर्तमान बजार परिस्थितिमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे प्यानल छलफलसमेत आयोजना गरिने कम्पनीको भनाइ छ । उक्त छलफलमा अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्त सहभागी हुने कम्पनीले जानकारी दिएको छ । सन सेक्युरिटिजका अनुसार तालिमले विशेषगरी काठमाडौं बाहिर तथा विदेशमा रहेका नेपाली लगानीकर्ताको वित्तीय तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त तालिमको संयोजन विवेक अधिकारी र दीपकराज पन्तले गर्ने कम्पनीले जानकारी दिएको छ ।