काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आबद्ध भएका छन् । यो संगै अब यी बैंकका ग्राहकहरूले विश्वस्तरिय इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी एससीटीको भुक्तानी स्विचमार्फत रकमान्तर गर्न सक्नेछन् ।
मंगलबार भएका दुई छुट्टाछुट्टै कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा मुक्तिनाथ विकाश बैंकका तर्फबाट उप–नायव कार्यकारी अधिकृत तिल बहादुर गुरुङले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो क्रममा दुवै बैंकका अधिकारीहरुले एससीटीसँगको यो नयाँ सम्झौतापछि एससीटीले गर्दै आएका नवप्रवर्तन तथा अत्याधुनिक सेवा प्रयोगका लागि बैंकका ग्राहकहरूलाई नयाँ मार्ग मिलेको बताए । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भएको यस सहकार्यले बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरसम्बन्धलाई मजबुत बनाउँदै ग्राहकहरूलाई अझ सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
एससीटीले सुरक्षित, भरपर्दो र नवीनतम प्रविधिमा आधारित भुक्तानी पूर्वाधार विकास गर्दै आएको छ । नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) डिजिटल भुक्तानीको क्षेत्रमा नेपालको सबैभन्दा पुरानो सेवा प्रदायक हो ।
नेपालको पहिलो डोमेस्टिक कार्ड एससीटी कार्ड र एससीटी नेटवर्कमार्फत सेवा सुरू गरेको यस संस्थाले हाल २४ बैंक वित्तीय संस्था तथा तीन सय भन्दा धेरै सहकारी संस्थाहरूमार्फत सर्वसाधारणलाई एससीटी युनियनपे कार्ड, भिसा कार्ड, डेबिट र क्रेडिट कार्ड, एटीएम सन्जाल, पीओएस सेवा, स्मार्ट क्यूआर सेवा, स्मार्ट बैंकिङ—ओम्नी च्यानल मोबाइल तथा इन्टरनेट बैंकिङ सेवालगायत रकमान्तर सेवा उपलब्ध गराउँदै आएको छ ।