काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषि क्षेत्रका क्षतिलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार स्वीकृत बीमालेख आगामी साउन एक गतेदेखि लागू हुने छ ।
वन्यजन्तु प्रभावित क्षेत्रमा बढ्दो मानवीय तथा आर्थिक क्षतिलाई बीमा प्रणालीमार्फत व्यवस्थापन गर्ने उद्देश्यले नयाँ बीमालेख ल्याइएको प्राधिकरणले जानकारी दिएको छ । प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा वन्यजन्तु प्रभावित क्षेत्रका विभिन्न संस्थाहरूले वन्यजन्तुबाट हुने क्षतिको बीमा व्यवस्था गर्न पटक–पटक आग्रह गर्दै आएका थिए । सोही मागलाई सम्बोधन गर्दै प्राधिकरणले वन्यजन्तु जोखिमलाई बीमा प्रणालीमा आबद्ध गर्ने नीति अघि सारेको हो ।
प्राधिकरणका अनुसार बीमालेख तयार गर्ने क्रममा प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विभिन्न राष्ट्रिय निकुञ्ज तथा आरक्षका पदाधिकारी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, वन उपभोक्ता समिति, वन्यजन्तु विज्ञ तथा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग परामर्श र छलफल गरी सुझाव संकलन गरिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार वन्यजन्तुबाट हुने मानवीय क्षति, घर तथा भौतिक संरचनामा हुने नोक्सानी, कृषिबाली तथा पशुधनमा हुने क्षतिका कारण नेपाल सरकारले प्रत्येक वर्ष १५ करोड रुपैयाँभन्दा बढी राहत वितरण गर्दै आएको छ । विगत पाँच वर्षमा मात्रै सरकारले वन्यजन्तु प्रभावितलाई करिब ७८ करोड रुपैयाँ राहत उपलब्ध गराएको तथ्यांक रहेको छ । प्राधिकरणले नयाँ बीमालेख लागू भएपछि राहतमुखी व्यवस्थालाई जोखिम व्यवस्थापनमुखी बनाउँदै प्रभावित नागरिकलाई छिटो र सुनिश्चित आर्थिक सुरक्षा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
यो बीमालेख नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले जारी गर्न सक्नेछन्। बीमालेख एक वर्ष अवधिको हुनेछ र वार्षिक एक हजार पाँच सय रुपैयाँ बीमाशुल्कमा विभिन्न प्रकारका जोखिमको रक्षावरण हुनेछ ।
बीमालेखअनुसार वन्यजन्तुको आक्रमणबाट व्यक्तिगत दुर्घटनामा मृत्यु वा पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँसम्म, अस्थायी पूर्ण अशक्ततामा पाँच लाख रुपैयाँसम्म, गम्भीर घाइतेको उपचार खर्च एक लाख रुपैयाँसम्म तथा सामान्य घाइतेको उपचार खर्च २० हजार रुपैयाँसम्म उपलब्ध हुनेछ । त्यसैगरी घर तथा भौतिक संरचनामा पाँच लाख रुपैयाँसम्म, पशुधनमा एक लाख रुपैयाँसम्म र कृषिबालीमा ५० हजार रुपैयाँसम्म बीमा सुरक्षा प्रदान गरिने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले बीमालेखमा बीमितमैत्री व्यवस्था पनि समेटेको छ । बीमा अवधिभित्र सबै जोखिम एकैपटक नघटे पनि बीमालेखको अवधि यथावत् रहनेछ । कृषि प्रयोजनका लागि पालिएका पशुधन मात्र बीमाको दायरामा पर्नेछन्। घर वा पशुधनको स्वामित्व परिवर्तन भएमा बीमकले निःशुल्क नामसारी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी बीमित स्थायी वा अस्थायी पूर्ण अशक्त भएको प्रमाण मान्यताप्राप्त चिकित्सकबाट पुष्टि हुनुपर्नेछ । कृषिबालीमा बीमा अवधिभित्र लगाइएका बालीहरू मात्र रक्षावरण हुनेछन् । क्षति भएपछि सर्जमिन मुचुल्का तयार नभएसम्म क्षतिग्रस्त वस्तु वा संरचना हटाउन नपाइने व्यवस्था गरिएको छ भने बीमालेख हराए पनि दाबी भुक्तानीमा सहजीकरण गरिने उल्लेख छ । बीमालेखमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव व्यवस्थापन तथा काजक्रिया खर्चबापत घटना भएको सात दिनभित्र ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । मानव मृत्युबाहेकका अन्य दाबीमा भने पाँच प्रतिशत रकम कट्टा गरी भुक्तानी गरिनेछ ।
प्राधिकरणका अनुसार स्वीकृत बीमालेख अनुसार वन्यजन्तुको आक्रमणबाट बसोबासका लागि प्रयोग गरिएका पक्की, कच्ची, फुस, टिन वा माटोका घर तथा गोठ, भान्साघर, शौचालय, पर्खाललगायत संरचनामा भएको क्षतिसमेत बीमाको दायरामा पर्नेछ । दुर्घटना वा क्षति भएको ४८ घण्टाभित्र बीमितले बीमकलाई जानकारी गराउनुपर्ने तथा जानकारी प्राप्त हुनासाथ बीमकले तत्काल दाबी प्रक्रिया सुरु गर्नुपर्ने प्राधिकरणको भनाइ छ । नयाँ बीमालेखले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, स्याल, मृग, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी तथा कृष्णसारलगायत वन्यजन्तुको आक्रमणबाट हुने जोखिमलाई रक्षावरण गर्ने प्राधिकरणले जानकारी दिएको छ ।