काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बुधबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिले प्रस्तुत गरेका सबै सामान्य र विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य नाफाबाट हाल कायम दुई अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजीको चार दशमलव २८ प्रतिशतका दरले नौ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत अर्थात् ५२ लाख १० हजार पाँच सय २६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि बोनस सेयर जारी गरिने छ । त्यसपछि कम्पनीको जारी तथा चुक्ता पुँजी दुई अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि पारित गरेको छ ।
कम्पनीको चालू आवको जेठ मसान्तसम्म शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउन्टर तथा प्रादेशिक कार्यालयहरूको समायोजनपछि प्रधान कार्यालय र प्रादेशिक कार्यालयसहित देशभर एक सय चारवटा शाखा, उपशाखा तथा तेस्रोपक्ष बीमा काउन्टरमार्फत बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०८३/०८४ मा सेयरधनीलाई अपेक्षित प्रतिफल उपलब्ध गराउने, व्यवसाय विस्तार गर्ने तथा निर्धारित लक्ष्य हासिल गर्न सम्पूर्ण कम्पनी परिवार प्रतिबद्ध र सक्रिय रहने जनाएको छ ।