मुस्ताङ । भन्सार छली गरेर पोखरातर्फ लैजाँदै गरेको अवस्थामा मुस्ताङ प्रहरीले अवैध सामान बरामद गरेको छ । नियमित जाँच गर्ने क्रममा थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले करिब चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो ।
नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतले जानकारी गराए ।
प्रहरीले भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिएको जनाएको छ भने गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको छ ।
सामान ल्याउने व्यक्तिको नाम भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सामानमा जिन्स पाइन्ट, टाउजर, टिसर्ट, जुत्ता, चप्पल आदि रहेका छन् ।