आजको युग सूचना तथा प्रविधिको युग भएकाले अहिले संसारका अधिकांश मानिसको हातमा स्मार्ट मोबाइल फोन छ । नेपालमा पनि इन्टरनेटको सहज पहुँच गाउँदेखि सहरसम्म विस्तार भइसकेको छ । त्यसैले आज अधिकांश मानिसको चासो, बहस, मनोरञ्जन, व्यापार, सूचना आदान–प्रदान र दैनिकीको ठूलो हिस्सा विभिन्न सामाजिक सञ्जालमा केन्द्रित हुन पुगेको छ । बिहान उठेदेखि राति सुत्दासम्म फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जाल धेरैको दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ । यसैअनुरूप आज विश्वमा कुनै पनि घटना घट्नासाथ त्यसको प्रभाव सबैभन्दा पहिले सामाजिक सञ्जालमा देखिन्छ । हाल सञ्चालन भइरहेको विश्वकप फुटबलमा कुन टोली जित्यो, कुन टोली हा¥यो, रेफ्रीले सही निर्णय गर्यो कि गलत, कुन खेलाडीले फाउल गर्यो, कुन प्रशिक्षकको रणनीति सही थियो । यस्ता विषय केही मिनेटमै लाखौँ मानिसबीच बहसको विषय बन्छन् । कुनै राजनीतिक घटना होस्, प्राकृतिक विपत्ति होस् वा कुनै व्यक्तिको अभिव्यक्ति—सामाजिक सञ्जालले क्षणभरमै त्यसलाई विश्वभर पुर्याउँछ ।
यस दृष्टिले हेर्दा सामाजिक सञ्जालले प्रत्येक नागरिकलाई सूचना प्राप्त गर्ने अधिकारलाई अझ सहज र प्रभावकारी बनाएको छ । कुनै समय एउटा समाचार गाउँसम्म पुग्न महिनौँ लाग्थ्यो भने आज केही सेकेन्डमै संसारको जुनसुकै कुनाको जानकारी प्राप्त गर्न सकिन्छ । यही कारण सामाजिक सञ्जाल आधुनिक समाजको शक्तिशाली सञ्चार माध्यम बनेको छ । सामाजिक सञ्जालले केवल सूचना मात्र दिएको छैन, हजारौँ मानिसलाई रोजगारी र जीविकोपार्जनको माध्यम पनि बनाएको छ । कसैले आफ्ना कला र प्रतिभा प्रस्तुत गरिरहेका छन्, कसैले आफ्ना उत्पादनको प्रचार–प्रसार गरेर व्यापार विस्तार गरेका छन् । कतिपयले यही माध्यमबाट आफ्नो व्यवसाय अन्तर्राष्ट्रिय बजारसम्म पुर्याएका छन् ।
अहिले सामाजिक सञ्जाल धेरै मानिसका लागि आवश्यकता मात्र नभई लतसमेत हुन पुगेको छ । बिहान आँखा खुल्नेबित्तिकै मोबाइल हेर्ने र राति सुत्नुअघि अन्तिम पटक पनि सामाजिक सञ्जालमै समय बिताउने बानी सामान्यजस्तै भइसकेको छ । यसले मानिसको पारिवारिक सम्बन्ध, कार्यक्षमता, अध्ययन, मानसिक स्वास्थ्य र सामाजिक व्यवहारमा गम्भीर असर पार्न थालेको छ । र, दुर्भाग्यवश, आज सामाजिक सञ्जालको प्रयोग सकारात्मकसँगै नकारात्मक दिशातर्फ पनि बढी उन्मुख हुन थालेको छ । सूचनाको माध्यम हुनुपर्ने ठाउँमा गालीगलौज, अपशब्द, भ्रामक सूचना, घृणा फैलाउने गतिविधि तथा चरित्रहत्या गर्ने माध्यमका रूपमा पनि यसको प्रयोग बढ्दै गएको देखिन्छ । कसैलाई प्रमाणविना दोषी बनाउने, कसैको व्यक्तिगत जीवनमा अनावश्यक हस्तक्षेप गर्ने, झुटा आरोप लगाउने र सामाजिक प्रतिष्ठामाथि प्रहार गर्ने प्रवृत्ति दिनप्रतिदिन बढिरहेको छ ।
अभिभावकसँग बसेर कुरा गर्नुभन्दा मोबाइल हेर्न रुचाउने, परिवारसँग समय बिताउनुभन्दा टिकटक स्क्रोल गर्न रमाउने, साथीभाइसँग प्रत्यक्ष भेटघाट गर्नुभन्दा सामाजिक सञ्जालमा सक्रिय रहने प्रवृत्ति बढ्दै गएको छ । यसको प्रत्यक्ष असर परिवारभित्रको संवादमा परेको छ । एउटै घरभित्र बसेका सदस्यहरूबीच कुराकानी कम हुँदै गएको छ भने मोबाइलसँग बिताउने समय बढ्दै गएको छ ।
विद्यार्थीहरूमा यसको प्रभाव झन् गम्भीर रूपमा देखिएको छ । पढाइमा ध्यान दिनुपर्ने उमेरमा धेरै समय रील, भिडियो र लाइभ हेर्नमा खर्च भइरहेको छ । अध्ययन अनुसन्धानभन्दा भाइरल सामग्रीमा बढी आकर्षण बढ्दै गएको छ । यसले उनीहरूको अध्ययन, एकाग्रता, सिर्जनशीलता र भविष्यलाई समेत प्रभावित गरिरहेको छ ।
यसका साथै, सामाजिक सञ्जालमार्फत हुने अनलाइन यौन शोषण, साइबर बुलिङ, ब्ल्याकमेलिङ, ठगी तथा गोपनीयताको उल्लङ्घन पनि उल्लेखनीय रूपमा बढिरहेको छ । विशेषगरी बालबालिका र किशोरकिशोरीहरू यसका सबैभन्दा संवेदनशील पीडित बनिरहेका छन् । उनीहरूले कुन सामग्री हेर्नु उचित हो र कुन होइन भन्ने निर्णय गर्ने परिपक्वता विकास भइनसकेको अवस्थामा सामाजिक सञ्जालका जोखिम पनि उत्तिकै बढिरहेका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै अस्ट्रेलियाले १० डिसेम्बर २०२५ देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाले प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा खाता खोल्न वा सञ्चालन गर्न नपाउने व्यवस्था लागू गरेको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, ट्विटर, युट्युब, रेडिट, थ्रेड्स र ट्विचजस्ता प्लेटफर्महरूमा यो व्यवस्था लागू गरिएको छ । यस कानुनको विशेषता भनेको यसको जिम्मेवारी बालबालिका वा अभिभावकलाई मात्र नदिई सम्बन्धित सामाजिक सञ्जाल कम्पनीहरूलाई पनि कानुनी रूपमा उत्तरदायी बनाइएको छ । उनीहरूले १६ वर्षभन्दा कम उमेरका बालबालिकाले खाता सञ्चालन गर्न नपाउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने दायित्व तोकिएको छ । तर ह्वाट्सएप, मेसेन्जर, गुगल क्लासरुम र युट्युब किड्सजस्ता केही सेवा यस व्यवस्थाबाट बाहिर राखिएका छन् ।
नेपालमा पनि अहिले साना बालबालिकालाई खाना खुवाउन मोबाइल देखाउने, रोएको बच्चालाई मोबाइल दिएर शान्त पार्ने, घण्टौँ रील हेर्न दिने प्रवृत्ति तीव्र रूपमा बढिरहेको छ । धेरै अभिभावकले बच्चाले मोबाइल चलाउन सिक्यो भनेर गर्व गर्ने गरेको समेत देखिन्छ । तर वास्तवमा यो गर्वको विषय होइन, गम्भीर चिन्ताको विषय हो । बालबालिकाले आफूले हेर्नुपर्ने सामग्रीभन्दा वयस्कका लागि बनेका भिडियो, हिंसात्मक दृश्य, अश्लील सामग्री वा अनुपयुक्त व्यवहार देख्ने सम्भावना अत्यधिक हुन्छ । यसले उनीहरूको मानसिक, सामाजिक र नैतिक विकासमा दीर्घकालीन असर पार्न सक्छ ।
आज सामाजिक सञ्जालले अर्को गम्भीर प्रवृत्तिलाई जन्म दिएको छ, आफैं न्यायाधीश, अनुसन्धानकर्ता र फैसला गर्ने प्रवृत्ति । कुनै घटना घट्नासाथ त्यसको सत्यतथ्य बुझ्ने प्रयासभन्दा पनि सबैभन्दा पहिले सामाजिक सञ्जालमा त्यसको ‘निर्णय’ सुनाइन्छ । सम्बन्धित निकायले अनुसन्धान सुरु गर्न नपाउँदै कसैलाई दोषी र कसैलाई निर्दोष घोषणा गरिन्छ । यो प्रवृत्ति लोकतान्त्रिक समाजका लागि अत्यन्तै खतरनाक हो ।
आजभोलि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको मुख्य उद्देश्य सत्य खोज्नु होइन, भ्युज, लाइक, सेयर र फलोअर बढाउनु बनेको देखिन्छ । यही कारण कसैको व्यक्तिगत जीवन, विगतका घटना, पुराना भिडियो वा सन्दर्भविहीन अभिव्यक्तिलाई पुनः सार्वजनिक गरेर चरित्रहत्या गर्ने क्रम बढ्दो छ ।
हामीले बारम्बार देखेका छौँ, कुनै व्यक्ति पक्राउ पर्नेबित्तिकै उनी अपराधी नै हुन् भन्ने निष्कर्ष निकालिन्छ । प्रहरी अनुसन्धान गर्दै हुन्छ, अदालतमा मुद्दा दर्ता पनि भएको हुँदैन, तर सामाजिक सञ्जालमा भने फैसला भइसकेको हुन्छ । कतिपय युट्युबर, टिकटक प्रयोगकर्ता र फेसबुक पेज सञ्चालकहरू धामी–झाँक्रीले भविष्यवाणी गरेझैँ, चिकित्सकले परीक्षण गरेझैँ वा अदालतले अन्तिम फैसला सुनाएझैँ आत्मविश्वासका साथ निष्कर्ष प्रस्तुत गरिरहेका हुन्छन् ।
तर पछि अदालतले उनी निर्दोष ठहर ग¥यो भने के हुन्छ? कानुनी रूपमा उनी निर्दोष सावित भए पनि सामाजिक रूपमा उनको प्रतिष्ठा समाप्त भइसकेको हुन्छ । परिवारले अपमान भोगिसकेको हुन्छ । रोजगारी गुमिसकेको हुन सक्छ । समाजमा फर्केर सामान्य जीवन जिउन कठिन भइसकेको हुन्छ । त्यसबेला झुटो सूचना फैलाउनेहरू माफी माग्दैनन्, उनीहरूले पुरानो भिडियो हटाउँदैनन्, र हटाए पनि पुगिसकेको क्षति फिर्ता आउँदैन । यसैले सामाजिक सञ्जालमा कसैको चरित्रहत्या गर्नु केवल नैतिक गल्ती मात्र होइन, यो मानव अधिकारमाथिको आक्रमण पनि हो ।
आज अर्को विकृति पनि बढ्दै गएको छ— जसको भ्युज धेरै छ, उसैको कुरा सही हो भन्ने मानसिकता ।
वास्तविकता भने त्यस्तो होइन । कुनै व्यक्तिका लाखौँ फलोअर हुनु भनेको उनी सधैँ सत्य बोल्छन् भन्ने प्रमाण होइन । कुनै भिडियो करोडौँ पटक हेरियो भन्दैमा त्यो तथ्यमा आधारित हुन्छ भन्ने ग्यारेन्टी छैन ।
आज कतिपय कमजोर व्यवसायी सामाजिक सञ्जालको प्रचारकै भरमा उत्कृष्ट व्यवसायी बनेका छन् । कतिपय व्यक्तिहरू आफ्नो विज्ञताभन्दा सामाजिक सञ्जालको लोकप्रियताका कारण रातारात चर्चित भएका छन् । कतिपय व्यक्तिहरूले आधारहीन, अतिरञ्जित वा वैज्ञानिक प्रमाणविनाका तर्क प्रस्तुत गरेर प्रसिद्धि कमाएका छन् ।
अझ विडम्बना त के छ भने, सामाजिक सञ्जालमा लोकप्रिय भएकै आधारमा चुनाव जितेर संसद्सम्म पुगेका उदाहरणहरू पनि नेपालको साथै विश्वभर देखिएका छन् । लोकप्रिय हुनु र सक्षम हुनु एउटै कुरा होइन । तर आज समाजले यी दुई कुराबीचको भिन्नता छुट्याउन क्रमशः छोड्दै गएको देखिन्छ ।
आज समाज विवेकभन्दा भीडको प्रभावमा चल्न थालेको छ ।
कुनै व्यक्ति मन परेपछि उसले जे गरे पनि ठीक लाग्ने र मन नपरेपछि उसले राम्रो काम गरे पनि स्वीकार नगर्ने प्रवृत्ति बढ्दै गएको छ । तथ्यभन्दा भावना, प्रमाणभन्दा प्रचार र सत्यभन्दा भाइरल सामग्रीले समाजलाई बढी प्रभावित गरिरहेको छ । यसले सामाजिक ध्रुवीकरण पनि बढाएको छ । एउटै घटनालाई हेर्ने दृष्टिकोण तथ्यका आधारमा होइन, आफूले समर्थन गर्ने व्यक्ति वा समूहका आधारमा बन्न थालेको छ । यसले स्वस्थ बहसको संस्कृतिलाई कमजोर बनाउँदै लगेको छ ।
आज सामाजिक सञ्जालमा दुई थोपा आँसु झार्न सक्ने व्यक्तिले लाखौँ रुपैयाँ सहयोग पाउने सम्भावना हुन्छ वा उसको जीत हुन्छ । तर वास्तविक रूपमा भोकै रहेका, ओत नपाएका, असहाय र बोल्न नसक्ने मानिसहरू समाजको नजरबाट ओझेलमा परेका छन् ।
यसको अर्थ सहयोग गर्नु गलत हो भन्ने होइन । तर सहयोग पनि वास्तविक आवश्यकताका आधारमा हुनुपर्छ, केवल भाइरल भिडियोका आधारमा होइन ।
आजकल ’देखाउने संस्कृति’ अत्यधिक बढेको छ । देखाएकै भरमा चर्चित पण्डित, योगी, समाजसेवी र प्रेरणादायी वक्ता बनेका छन् । तर वास्तविक जीवनमा उनीहरूको आचरण, नैतिकता र चरित्र त्यही स्तरको छ कि छैन भन्ने कुरा धेरै कमले खोज्छन् ।
आज सामाजिक सञ्जालमार्फत राम्रो अभिनय गर्न सक्ने, प्रभावकारी बोल्न सक्ने वा भावुक भिडियो बनाउन सक्ने व्यक्ति धेरै छिटो भाइरल हुन सक्छ । तर भाइरल हुनु र आदर्श व्यक्ति हुनु एउटै कुरा होइन । समाजले अब व्यक्तिको अभिनय होइन, व्यवहार हेर्न सिक्नुपर्छ ।
यसो भन्दैमा सामाजिक सञ्जालको सम्पूर्ण भूमिका नकारात्मक छ भन्ने निष्कर्ष निकाल्नु पनि उचित हुँदैन । सामाजिक सञ्जालको सही प्रयोग गरियो भने यसले समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन सक्छ । अर्थात् सामाजिक सञ्जाल एक शक्तिशाली साधन हो । यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले यसको प्रभाव निर्धारण गर्छ ।
तर यसको अर्थ यो कदापि होइन कि भ्युजको नाममा कसैको चरित्रहत्या गर्न पाइन्छ । पुराना सन्दर्भहीन भिडियो निकालेर कसैको वर्तमान जीवनमाथि प्रहार गर्न पाइँदैन । प्रमाणविनाका आरोप लगाउन पाइँदैन । अश्लीलता, हिंसा, घृणा र उच्छृंखलतालाई मनोरञ्जनको नाममा फैलाउन पाइँदैन । कसैको मानसिक वा शारीरिक पीडालाई सामग्री बनाएर पैसा कमाउन पाइँदैन । अरूको गोपनीयतालाई उल्लङ्घन गरेर लोकप्रिय बन्न खोज्नु कुनै पनि सभ्य समाजको विशेषता हुन सक्दैन ।
नेपालमा एउटा दुःखद् पक्ष के पनि देखिन्छ भने राम्रो समाचारभन्दा नराम्रो समाचार धेरै छिटो फैलिन्छ । यही कारण धेरै सिर्जनशील, सकारात्मक र अनुसन्धानमा आधारित सामग्री ओझेलमा पर्छन् भने विवाद, गाली, झगडा र सनसनीपूर्ण सामग्री केही घण्टामै लाखौँ मानिससम्म पुग्छ । एकातिर यस प्रवृत्तिले समाजलाई तथ्यभन्दा उत्तेजनातर्फ लैजाने खतरा बढाइरहेको छ भने अर्कोतर्फ सामाजिक सञ्जाल शिक्षा, अनुसन्धान, व्यापार, पर्यटन, सञ्चार, सामाजिक अभियान र नागरिक सहभागिताको महत्वपूर्ण माध्यम बनिसकेको छ । त्यसैले यसको समाधान प्रतिबन्ध होइन, जिम्मेवार प्रयोग, प्रभावकारी नियमन र डिजिटल संस्कारको विकास हो ।
सबैभन्दा पहिले राज्यले सामाजिक सञ्जालसम्बन्धी स्पष्ट, व्यवहारिक र समयानुकूल नीति बनाउन आवश्यक छ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै झुटा सूचना फैलाउने, चरित्रहत्या गर्ने, घृणा फैलाउने, साइबर अपराध गर्ने र बालबालिकाको मानसिक तथा शारीरिक विकासमा प्रतिकूल असर पार्ने सामग्रीमाथि कानुनी नियन्त्रण हुनुपर्छ । नियमनको अर्थ अभिव्यक्ति स्वतन्त्रता खोस्नु होइन; नियमनको उद्देश्य जिम्मेवारी सुनिश्चित गर्नु हो ।
त्यसैगरी, सामाजिक सञ्जाल कम्पनीहरूको पनि उत्तिकै ठूलो जिम्मेवारी छ । उनीहरूले आफ्नो प्लेटफर्ममा आउने सामग्रीलाई केवल भ्युज र आम्दानीका आधारमा होइन, सामाजिक उत्तरदायित्वका आधारमा पनि हेर्नुपर्छ । बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने, झुटा सूचना चिनाउने, साइबर बुलिङ रोक्ने, अश्लीलता, हिंसा र घृणाजन्य सामग्री नियन्त्रण गर्ने दायित्व उनीहरूको पनि हो र आम नागरिकले पनि कुन सामग्री सत्य हो, कुन भ्रामक हो, कुन सामग्री सेयर गर्दा अपराध हुन सक्छ, कुन सामग्रीले समाजमा नकारात्मक असर पार्छ भन्नेबारे विद्यालयदेखि विश्वविद्यालयसम्म सचेतना आवश्यक छ ।
अब सोच्ने बेला आएको छ कि अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल दिएर आफू जिम्मेवारीमुक्त भएको सोच्नु सबैभन्दा ठूलो भूल हो भन्ने । मोबाइल बच्चा चुप लगाउने साधन होइन । मोबाइल खाना खुवाउने माध्यम होइन र मोबाइल अभिभावकको विकल्प होइन । आज धेरै घरमा बच्चा रोयो भने मोबाइल दिने, खाना नखाए भिडियो देखाउने, खेल्न नदिई मोबाइल थमाइदिने प्रवृत्ति बढिरहेको छ । यसले बच्चाको मानसिक विकास, सामाजिक व्यवहार, एकाग्रता, सिर्जनशीलता र स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । बालबालिकालाई प्रविधिबाट टाढा राख्ने होइन, प्रविधिको सही प्रयोग सिकाउने संस्कार विकास गर्नुपर्छ ।
अब विद्यालय तहदेखि नै सामाजिक सञ्जाल कसरी सुरक्षित प्रयोग गर्ने, साइबर अपराधबाट कसरी जोगिने, व्यक्तिगत गोपनीयताको महत्व के हो, तथ्य र अफवाह कसरी छुट्याउने, र सभ्य भाषा कसरी प्रयोग गर्ने भन्ने सिकाइनुपर्छ । कसैलाई गाली गर्नु अघि आफूले प्रयोग गर्ने शब्दको प्रभाव बुझ्नुपर्छ । कसैको प्रतिष्ठामाथि प्रहार गर्नु अघि त्यसको परिणामबारे सोच्नुपर्छ ।
आजको सबैभन्दा ठूलो समस्या सामाजिक सञ्जाल होइन । समस्या हाम्रो सोच, संस्कार र जिम्मेवारीको अभाव हो । समस्या सामाजिक सञ्जालको होइन, कसरी प्रयोग गर्ने भन्ने कुराको हो । आज हामी यस्तो समाजतर्फ अघि बढिरहेका छौँ, जहाँ तथ्यभन्दा प्रचार शक्तिशाली बन्दै गएको छ ।
हामीले बिर्सनु हुँदैन, सामाजिक सञ्जाल अदालत होइन । फेसबुक न्यायाधीश होइन । टिकटक अनुसन्धान अधिकृत होइन । युट्युब फैसला सुनाउने संस्था होइन । नेपालमा राज्य छ । नेपाल प्रहरी छ । अनुसन्धान गर्ने निकायहरू छन् । अदालत, संविधान र कानुन छ । कसैलाई दोषी वा निर्दोष ठहर गर्ने अधिकार सामाजिक सञ्जाललाई होइन, कानुनी निकायलाई मात्र छ ।
राज्यलाई खबरदारी गर्नु प्रत्येक नागरिकको अधिकार र कर्तव्य हो । भ्रष्टाचार, अन्याय, विभेद र विकृतिविरुद्ध आवाज उठाउनु हक अधिकार हो । तर आवाज उठाउने नाममा कसैको चरित्रहत्या गर्ने, झुटा सूचना फैलाउने, अपमान गर्ने वा समाजलाई भड्काउने अधिकार कसैलाई हुनु हुँदैन ।
त्यसैगरी, राज्यले पनि नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नु हुँदैन । नियमन आवश्यक छ, तर नियन्त्रणका नाममा स्वतन्त्रता भने खोसिनु हुँदैन ।
सामाजिक सञ्जाल आधुनिक समाजको अपरिहार्य आवश्यकता हो । यसले ज्ञान, सूचना, शिक्षा, व्यापार, रोजगारी र सामाजिक सेवाका असंख्य अवसर सिर्जना गरेको छ । तर यही माध्यमको दुरुपयोगले समाजमा भ्रम, घृणा, विभाजन, चरित्रहत्या, मानसिक तनाव र अराजकता पनि बढाइरहेको छ । राज्यले विवेकपूर्ण नियमन गर्नुपर्छ, सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व निभाउनुपर्छ, अभिभावकले बालबालिकालाई डिजिटल संस्कार सिकाउनुपर्छ, विद्यालयले डिजिटल साक्षरता पढाउनुपर्छ र प्रत्येक नागरिकले अभिव्यक्ति स्वतन्त्रतालाई जिम्मेवारीसँग जोड्नुपर्छ । जबसम्म हामी सामाजिक सञ्जाललाई लोकप्रिय बन्ने माध्यम होइन, समाज बनाउने माध्यमका रूपमा प्रयोग गर्न सिक्दैनौँ, तबसम्म प्रविधिको विकाससँगै सामाजिक अस्तव्यस्तता पनि बढ्दै जानेछ ।