काठमाडौं । इनोभेन्चर्स एआई इन्कले आफ्नो एआई प्लेटफर्म स्प्रिङबेस एआईमा नयाँ बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक गरेको छ । यस नयाँ प्रविधिले प्रयोगकर्ताले बोलेका विचारलाई प्राकृतिक संवादमार्फत अनुसन्धान, योजना, वेबसाइट, एप, प्रतिवेदन तथा अन्य डिजिटल नतिजामा रूपान्तरण गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो सुविधा परम्परागत भ्वाइस असिस्टेन्टभन्दा फरक छ । सामान्य संवादमा सिमित नरही यसले प्रयोगकर्ताको उद्देश्य बुझेर चरणबद्ध रूपमा काम सम्पन्न गर्ने कम्पनीको दाबी छ । १५० भन्दा बढी भाषाको समर्थन गर्ने यस प्रविधिले विभिन्न देशका प्रयोगकर्तालाई आफ्नै भाषामा स्प्रिङबेस एआईसँग संवाद गर्दै अनुसन्धान, योजना निर्माण, सामग्री विकास तथा डिजिटल उत्पादन तयार गर्न सहज बनाउने कम्पनीको विश्वास छ । प्रयोगकर्ताले आफूले बनाउन चाहेको विषय बोलेर व्यक्त गरेपछि स्प्रिङबेस एआईले त्यसलाई विश्लेषण गरी प्रयोगयोग्य नतिजामा रूपान्तरण गर्नेछ । यसले जटिल मौखिक निर्देशनलाई अन्तरक्रियात्मक प्रस्तुतीकरण, तस्बिर, अनुसन्धान प्रतिवेदन, कार्यशील वेबसाइट, एप्लिकेसन, स्वचालित कार्यप्रवाह तथा अन्य डिजिटल सामग्रीमा रूपान्तरण गर्न सक्ने कम्पनीको दाबी छ ।
हामीले संवाद गर्ने एआईभन्दा अगाडि बढेर प्रयोगकर्ताको विचारलाई प्रत्यक्ष कार्यान्वयनमा रूपान्तरण गर्ने नयाँ अनुभव विकास गरेका छौँ । स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छाले भने, ‘हाम्रो प्लेटफर्मले प्रत्येक निर्णयको आधार र प्रक्रिया स्पष्ट रूपमा प्रस्तुत गर्ने भएकाले प्रयोगकर्ताले एआईले कसरी काम गरिरहेको छ भन्ने बुझ्न सक्छन् । अब जुनसुकै व्यक्तिले आफ्नो मातृभाषामै आफूले चाहेको कुरा वर्णन गरेर उन्नत डिजिटल समाधान सिर्जना गर्न सक्छ ।’ उनका अनुसार यस सुविधाले प्रयोगकर्तालाई योजना बनाउन, अनुसन्धान गर्न, नयाँ अवधारणामा काम गर्न तथा आफ्ना परियोजनालाई निरन्तर परिमार्जन गर्दै अगाडि बढ्न अझ सहज बनाउनेछ ।
स्प्रिङबेस एआईले नयाँ सुविधाको प्रदर्शन गरिएको छोटो भिडियो आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । साथै सञ्चारमाध्यमका लागि आवश्यक स्क्रिनसट तथा अन्य सामग्री प्रेस किटमार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । प्लेटफर्ममा यसअघि उपलब्ध एआई कार्यप्रवाह, प्रतिवेदन निर्माण, बैठक रेकर्डिङ, ट्रान्सक्रिप्सनलगायतका उत्पादकत्वसम्बन्धी सेवाहरू पनि यथावत रहनेछन् । यी सेवाहरू प्रोफेसनल तथा संस्थाहरूका लागि करसहित प्रतिमहिना नेपाली १ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।