काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको छ । नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको काठमाडौँमा सेवा विस्तार गरेको हो ।
यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवर्द्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ । काठमाडौंमा नयाँ स्टुडियो सञ्चालनसँगै बेलो ब्लसले पोखराको लेकसाइड र न्युरोडस्थित आफ्ना सफल स्टुडियोहरूको यात्रालाई राष्ट्रियस्तरमा विस्तार गरेको छ । कम्पनीले प्रिमियम नेल आर्ट, लक्जरी म्यानिक्योर तथा पेडिक्योर, अत्याधुनिक ल्यास एक्सटेन्सन, नेल केयर सेवा तथा अन्तर्राष्ट्रिय सरसफाइ मापदण्डअनुसार उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्दै हजारौं ग्राहकको विश्वास जित्न सफल भएको छ ।
काठमाडौंस्थित नयाँ स्टुडियोलाई आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि तथा उच्च गुणस्तरका उत्पादनमार्फत प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । दक्ष तथा प्रशिक्षित ब्यूटी प्रोफेसनलद्वारा प्रदान गरिने सेवाले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ ।
बेलो ब्लस स्टुडियोले व्यावसायिक सौन्दर्य सेवासँगै बेलो ब्लस एकेडेमीमार्फत सौन्दर्य शिक्षा पनि दिँदै आएको छ । कम्पनीले निकट भविष्यमा काठमाडौंमा पनि बेलो ब्लस एकेडेमी सञ्चालन गर्ने उल्लेख गरेको छ । यसबाट व्यावसायिक सीप विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बन्न थप अवसर उपलब्ध हुने कम्पनीको विश्वास छ । सन् २०२१ मा संस्थापक प्रिया गुरुङले आफ्नै घरको एउटा सानो कोठाबाट सुरु गरेको बेलो ब्लस स्टुडियो हाल नेपालको प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।