काठमाडौ । जलवायुजन्य विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुने जोखिम न्यूनीकरण गर्न संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र प्यानासोनिक होल्डिङ्स कर्पोरेसनबीच सम्झौता भएको छ ।
यस साझेदारीले जलवायुजन्य विपद्को बढ्दो जोखिममा रहेका समुदायहरूमा आपतकालीन समयमा पनि जीवनरक्षक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने जनाइएको छ । सम्झौता अनुसार नेपालका जाजरकोट र रौतहटका स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकालाई १९८ थान सोलार लालटिन उपलब्ध गराइने भएको छ । यूएनएफपीएका अनुसार यो सहयोग जापान सरकारको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजनाको परिपूरक कार्यक्रम हो । परियोजनाले पहिरो, अत्यधिक चिसोलगायत जलवायुजन्य जोखिमबाट प्रभावित क्षेत्रमा गर्भवती महिला र नवजात शिशुलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सम्झौताअनुसार वितरण गरिने सोलार लालटिनले विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि प्रसूति तथा नवजात शिशु सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट वार्षिक रूपमा करिब ४७ हजार ८९८ गर्भवती महिला र नवजात शिशु प्रत्यक्ष लाभान्वित हुने यूएनएफपीएले जनाएको छ । सोलार लालटिन स्वास्थ्य संस्थाभित्रको सेवा प्रवाहमा मात्र नभई रात्रिकालीन स्वास्थ्य प्रेषण तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको गृहभेट सेवामा समेत उपयोग हुने जनाइएको छ । परियोजनाअन्तर्गत हालसम्म २० वटा स्वास्थ्य संस्थाको जलवायु उत्थानशीलता मूल्याक्न, १० वटा स्वास्थ्य संस्थाको जीर्णोद्धार तथा नौ वटा स्थानीय तहका जलवायु–अनुकूलन योजना निर्माणमा सहयोग गरिएको यूएनएफपीएले जनाएको छ ।
प्यानासोनिकले सन् २०२२ देखि यूएनएफपीएसँगको सहकार्यमा अफ्रिका र एसियाका विद्युत् पहुँचबाहिर रहेका समुदायमा सोलार लालटिन वितरण गर्दै आएको छ । कम्पनीका अनुसार सन् २०१३ मा सुरु गरिएको ‘लाइट अप द फ्युचर’ अभियानअन्तर्गत हालसम्म ३६ देशमा करिब १ लाख ३० हजार सोलार लालटिन वितरण भइसकेका छन् ।