काठमाडौ । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म भीलले नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको छ । कम्पनीले दक्षिण एसियाली बजारलाई लक्षित गर्दै व्यवसाय र कन्टेन्ट क्रिएटरलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार प्लेटफर्मले व्यवसायलाई उपयुक्त क्रिएटर छनोट, अभियान (क्याम्पेन) सञ्चालन, भिडियो सम्पादन तथा स्वीकृति, भुक्तानी व्यवस्थापन र कन्टेन्ट अधिकार (लाइसेन्स) व्यवस्थापनका सुविधा प्रदान गर्नेछ । क्रिएटरहरूले भने नेपाल तथा भारतका साथै अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रत्यक्ष सहकार्य गर्ने अवसर पाउने कम्पनीको दाबी छ । काठमाडौंमा आयोजित शुभारम्भ कार्यक्रममा प्रविधि, स्टार्टअप, व्यवसाय, क्रिएटर समुदाय तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा भीलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रलाई प्रविधिमार्फत जोड्ने दीर्घकालीन लक्ष्य रहेको बताए । उनका अनुसार प्लेटफर्मले क्रिएटरलाई दिगो करियर निर्माण तथा व्यवसायलाई प्रभावकारी डिजिटल कन्टेन्टमार्फत बजार विस्तार गर्न सहयोग पुर्याउनेछ ।
कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोमले अमेरिकी उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता (एआई) र नेपाली प्रतिभाबीच सहकार्य विस्तार गर्न यस्ता पहलले योगदान पु¥याउने बताए । कम्पनीका अनुसार भील नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म हो । यसले परम्परागत रूपमा इमेल, मेसेजिङ एप, स्प्रेडसिट, भिडियो सम्पादन संक्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणाली प्रयोग गरेर सञ्चालन हुने क्रिएटर अभियानलाई एउटै प्लेटफर्ममा व्यवस्थापन गर्ने सुविधा उपलब्ध गराउँछ ।
भीलको प्रणालीअनुसार व्यवसायले अभियान विवरण तयार गरेपछि क्रिएटरहरूले आवेदन दिन वा एआई–आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन सक्नेछन् । छनोट भएका क्रिएटरले प्लेटफर्ममै भिडियो तयार गर्ने र ब्रान्डले समीक्षा, परिमार्जन, अन्तिम स्वीकृति र भुक्तानी प्रक्रिया प्लेटफर्मबाटै सम्पन्न गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल प्लेटफर्ममा विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, पाँच लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश आबद्ध छन् । नेपाल र भारतका व्यवसायले वेबसाइट तथा क्रिएटरहरूले मोबाइल एपमार्फत सेवा प्रयोग गर्न सक्नेछन् । नेपालमा स्थानीय भुक्तानी प्रणाली विस्तारका लागि भीलले एनसीएचएल, फोनपे, इ–सेवा, खल्ती र हाम्रो पे सँग साझेदारी गरेको जनाएको छ । कम्पनीका अनुसार व्यवसाय र क्रिएटर दुवैले विभिन्न स्थानीय डिजिटल भुक्तानी माध्यममार्फत कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ ।