काठमाडौं, पछिल्लो समय मुलुकको अर्थतन्त्र सुस्त रहेको छ । उद्योगधन्दा अपेक्षित गतिमा सञ्चालन हुन सकेका छैनन् । निजी क्षेत्र लगानी विस्तार गर्न हिचकिचाइरहेको छ भने सर्वसाधारण चर्को ब्याजदर, महंगी र आर्थिक दबाबको दोहोरो मारमा परेका छन् । बजारमा माग कमजोर छ, व्यवसायीको मनोबल खस्किएको छ र उत्पादनमूलक क्षेत्रले अपेक्षित गति लिन सकेको छैन । तर, मुलुकको यही कमजोर आर्थिक अवस्थाका बावजुत पनि बैंकिङ क्षेत्रको खुद मुनाफा भने उच्च रूपमा बढेको छ ।
मुलकका आम नागरिक र व्यवसायी आर्थिक संकटसँग जुधिरहेका बेला सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिना अर्थात् साउनेखि असोज मसान्तसम्ममा कुल १९ अर्ब १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरूले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४५ दशमलव ६० प्रतिशत अर्थात् छ अर्ब रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको यस्तो नाफा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
वाणिज्य बैंकहरू स्वयम्ले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार खुद मुनाफा आर्जनमा पहिलो स्थानमा नबिल बैंक पहिलो स्थानमा परेको छ । बैंकले चालू आवको पहिलो तीन महिनामा दुई अर्ब ५५ करोड ५१ लाख पाँच हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ४२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा एक अर्ब ७५ करोड ६९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि चालू आवको पहिलो तीन महिनामा दुई अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा कमाउँदै दोस्रो स्थानमा परेको छ । बैंकको नाफा गत आवको तुलनामा २४ दशमलव ४८ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा ग्लोवलको यस्तो नाफा एक अर्ब ८५ करोड ८६ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी एभरेष्ट बैंकले एक अर्ब २५ करोड २७ लाख १९ हजार, प्राइम कमर्सियल बैंकले एक अर्ब १८ करोड ७६ लाख ५७ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । एनएमबी बैंकले पनि एक अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा कुमारी बैंकले पनि एक अर्ब सात करोड ४५ लाख पाँच हजार रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा सानिमा बैंकले पनि चालू आवको पहिलो त्रैमासमा एक अर्ब पाँच करोड १४ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ५० लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको यो बैंकले चालू आवको पहिलो त्रैमासमा एक अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकको खुद नाफा पछिल्लो अवधिमा एक सय ७५ दशमलव ५२ प्रतिशतले बढेर एक अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यसैगरी सिद्धार्थ बैंकको खुद मुनाफा ६२ दशमलव ७५ प्रतिशतले ढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ पुग्दा सानिमा बैंकको खुद मुनाफा पनि एक सय ३१ दशमलव १३ प्रतिशतले बढेर एक अर्ब पाँच करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा सानिमाको यस्तो नाफा ४५ करोड ४९ लाख रुपैयाँ रहेको थियो । लक्ष्मी सनराइज बैंकले पनि पछिल्लो अवधिमा ९६ दशमलव छ प्रतिशतले खुद मुनाफा बढाउँदै ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा लक्ष्मी सनराइजको यस्तो नाफा ३३ करोड २३ लाख रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकले पनि ३१ दशमलव ८६ प्रतिशतले खुद मुनाफा बढाएर ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४१ करोड ७९ लाख रुपैयाँ रहेको थियो । एनएमबी बैंकको खुद मुनाफा पनि पछिल्लो अवधिमा २७ दशमलव १० प्रतिशतले बढेर एक अर्ब १६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा एक अर्ब ३० करोड ८५ लाख रुपैयाँ रहेको थियो । नेपाल एसबीआई बैंकको खुद मुनाफा भने १० दशमलव शून्य नौ प्रतिशतले बढेर ५५ करोड २२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा ४९ करोड ७६ लाख रुपैयाँ रहेको थियो । प्रभु बैंकको खुद मुनाफा आठ दशमलव १० प्रतिशतले बढेर ६४ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने एभरेष्ट बैंकको नाफा छ दशमलव २२ प्रतिशतले बढेर एक अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकको नाफा चार दशमलव ३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कृषि विकास बैंकले पनि एक अर्ब नौ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा ५७ करोड ३८ लाख रुपैयाँ थियो ।
चालू आवको पहिलो त्रैमासमा एक दर्जनभन्दा बढी बैंकको खुद मुनाफा बढ्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद मुनाफा भने दुई दशमलव ९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यो बैंकले ६९ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । पछिल्लो अवधिमा हिमालयन बैंकको नाफा पनि छ दशमलव ८३ प्रतिशतले घटेर ६८ करोड ४८ लाख रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिमा हिमालयनको यस्तो नाफा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो । गत आवको पहिलो त्रैमासमा २२ करोड चार लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको सिटिजन्स बैंक इन्टरनेशनलले भने चालू आवको पहिलो त्रैमासमा १० करोड २७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।