सुनसरी, धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे यी पाँच जनालाई पक्राउ गरेको छ ।
गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
सो क्रममा प्रहरीले बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताए । पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको पछ ।