काठमाडौं, काठमाडौं हरर फिल्म फेस्टिभल २०२६ को दोस्रो संस्करण समापन गरिएको छ । आइतबार रसियन हाउस काठमाडौंमा समापन चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै फिल्म फेस्टिभल सम्पन्न भएको हो ।
तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा प्रतिकूल मौसमका बाबजुद पनि दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत चलचित्रको प्रदर्शनमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको हो । समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकलगायतको उपस्थिति थियो ।
महोत्सवको समापन मोराद मुस्तफाद्वारा निर्देशित चलचित्र ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै गरिएको थियो । इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको १२० मिनेट लामो चलचित्रले कायरोको ऐन शम्स क्षेत्रमा बसोबास गर्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको संघर्षको कथा प्रस्तुत गरेको छ । इजिप्टेली र अफ्रिकी आप्रवासी समुदायबीचको तनाव तथा गिरोहको नियन्त्रणमा रहेको बस्तीको परिवेशमा चलचित्रले आयशाले सामना गर्नुपरेका चुनौतीलाई चित्रण गरेको छ ।
महोत्सवको प्रतिस्पर्धातर्फ दर्शकको मतका आधारमा नेपाली छोटो चलचित्र ‘केएनएआर’ सर्वश्रेष्ठ छोटो चलचित्र घोषित भएको छ । आकाश धिमालद्वारा निर्देशित उक्त चलचित्रले १८ प्रतिस्पर्धी छोटा चलचित्रलाई पछि पार्दै अवार्ड जितेको हो । त्यसैगरी, ६ फिचर चलचित्रबीचको प्रतिस्पर्धामा नादिम ताबेतद्वारा निर्देशित ‘ईन दिस डार्कनेस आई सी यू’ सर्वश्रेष्ठ फिचर चलचित्र घोषित भएको छ । फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण रहेको उक्त चलचित्रले पनि दर्शकको मतका आधारमा अवार्ड प्राप्त गरेको हो । समारोहमा महोत्सवको सफल आयोजनामा योगदान पुर्याउने स्वयंसेवक तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।
सन् २०२५ मा २५ चलचित्र प्रदर्शन गर्दै सुरु भएको महोत्सवको दोस्रो संस्करणमा अन्तर्राष्ट्रिय खुला आह्वानमार्फत २१ देशका २६ चलचित्र छनोट गरिएका थिए । छनोट भएका चलचित्रमा आठ फिचर र १८ छोटा चलचित्र थिए । तीमध्ये पाँच चलचित्र नेपाली निर्माण वा सहनिर्माणका हुन् । नेपाल र अस्ट्रेलियाको संयुक्त निर्माण रहेको फिचर चलचित्र ‘मोक्ष’ पनि महोत्सवमा समावेश थियो । कात्तिक १३ गतेबाट शुरु भएको महोत्सवमा जापान, ब्राजिल, पाकिस्तान, फ्रान्स र रुसका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।