काठमाडौं, नेपाल टेलिकमले हुलाक सिम सेवा सेवा सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार एक कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरेका हुन् ।
हुलाक सिम सेवाअन्तर्गत ग्राहकले अब टेलिकमको काउन्टरमा लाइनमा बस्न नपरी अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाक मार्फत घरदैलोमा प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले पहिलो ग्राहकको रुपमा मन्त्री तिमिल्सिनालाई सिम हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्त्री तिमिल्सिनाले सानो तर महत्वपूर्ण सेवाको रुपमा हुलाक सिम सेवा सुरु गरिएको बताए । उनले आगामी दिनमा हुलाकको दायरालाई फराकिलो बनाउने बताए । साथै, टेलिकमका सेवाहरुसमेत पूर्ण रुपमा अनलाइनमार्फत उपलब्ध गराइ जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउने बताए । सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलले सरकारी सेवा हुलाकमार्फत उपलब्ध गराउने सरकारको कदममा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले हाल कम्पनीले कार्यालय र डिलरहरुमार्फत सेवा उपलब्ध गराइरहेकोमा अब सेवाग्राहीको घर घर सम्म पुग्ने बताइन् । हुलाक सिम सेवा सडकको पहुँच नभएका ग्रामीण क्षेत्रमा समेत उपलब्ध गराउन सकिने उनको भनाइ छ । हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सेवा उपलब्ध गराउनका लागि हुलाकको भूमिका महत्वपूर्ण हुने बताउदै दुई संस्थाबीच आगामी दिनमा अन्य सेवा वितरणका लागि समेत सहकार्य गर्न सकिनेमा जोड दिइन् ।
हुलाक सिम सेवा प्राप्त गर्नका लागि सेवाग्राहीले इ–सिम डट एनटीसी डट नेट डट एनपी लगइन गरी त्यहाँ रहेको पोस्टल सिम पोस्टलमा क्लिक गरे पश्चात् दिइएको निर्देशन अनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ । यसमा व्यक्तिगत विवरणअन्तर्गत पूरा नाम, जन्म मिति, ठेगाना र नजिकको ल्यान्डमार्कलगायतका विवरण उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी प्रोफाइल फोटो र नागरिकता÷राहदानीको अगाडि–पछाडिको स्पष्ट फोटो अपलोड गरी आफ्नो नजिकको नेपाल टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्नुपर्छ । टेलिकमबाट कागजात जाँच हुने र यसको बारेमा एसएमएसमार्फत जानकारी दिइनेछ । आवेदन स्वीकृत भएमा भुक्तानी चरणमा अगाडि बढ्न सकिने र सुधार आवश्यक भएमा आवश्यक विवरण सच्याउन सकिन्छ । त्यसपश्चात् आवेदन स्वीकृत भएपछि सिम शुल्क र हुलाक डेलिभरी शुल्क मिलाएको जम्मा रकम अनलाइनमार्फत बुझाउन सकिने कम्पनीले जनाएको छ ।
सिमका लागि ९० रुपैयाँ र हुलाक डेलिभरीका लागि ७० रुपैयाँ शुल्क लाग्ने छ । उक्त रकम जुनसुकै बैंकिङ एप वा डिजिटल वालेटबाट स्क्यान गर्न वा नमस्ते पेबाट सिधै भुक्तानी गर्न सकिन्छ । भुक्तानी सम्पन्न भए पश्चात् टेलिकममार्फत मोबाइल नम्बर तोकी सेवाग्राहीलाई एसएमएस र इमेलमार्फत डेलिभरी कन्फर्मेसन र एक्टिभेसन कोड पठाइन्छ ।