काठमाडौं, सारथी इक्विटी फण्ड लिमिटेडको दोस्रो वार्षिक साधारणसभा काठमाडौंको गौशालास्थित होटल ब द्रीनाथमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभाले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै स्वतन्त्र सञ्चालकमा भवानी घिमिरे (थापा) को नियुक्तिलाई अनुमोदन गरेको छ । त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय समेत गरेको छ । कम्पनीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था, लगानी व्यवस्थापन तथा आगामी व्यावसायिक रणनीतिका विषयमा विस्तृत छलफल भएको थियो । सो अवसरमा सेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ कम्पनीका प्रबन्ध सञ्चालक कोषराज सुवेदीले दिएका थिए । सभाको सञ्चालन कम्पनी सचिव अस्मिता गौतमले गरेकी थिइन् ।
लगानी विविधीकरण र उच्च प्रतिफल कम्पनीको प्राथमिकता
सारथी इक्विटी फण्डले आगामी दिनमा लगानीका नयाँ अवसर पहिचान गर्दै सम्भावनायुक्त परियोजनाहरूमा पुँजी परिचालन गर्ने रणनीति अघि सारेको छ । प्रभावकारी जोखिम व्यवस्थापन, लगानी पोर्टफोलियोको विविधीकरण तथा दीर्घकालीन मूल्य अभिवृद्धिलाई प्राथमिकतामा राख्दै सेयरधनीलाई आकर्षक प्रतिफल प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको जनाइएको छ ।
यसैगरी, कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलसम्बन्धी इजाजतपत्र प्राप्त गरी लगानीको दायरा विस्तार गर्ने योजना बनाएको छ । नवीन प्रविधिमा आधारित व्यवसाय, नवप्रवर्तनशील उद्यम तथा दिगो विकासको सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गरी मुलुकको लगानी बजारमा नयाँ अवसर सिर्जना गर्ने कम्पनीको रणनीति रहेको छ । ई. राजीव पौडेल र डा. हिमाल भट्टराईसमेत सञ्चालक समितिमा रहेको सारथी इक्विटी फण्डले सम्भावनायुक्त परियोजनामा लगानी विस्तार, प्रभावकारी लगानी व्यवस्थापन र दीर्घकालीन प्रतिफल सुनिश्चिततालाई आफ्नो प्रमुख कार्यदिशाका रूपमा अघि बढाएको जनाएको छ ।
कम्पनीले लगानीका नयाँ क्षेत्र पहिचान गर्दै व्यावसायिक विस्तार र दिगो प्रतिफलमार्फत सेयरधनीको हित अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।