काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था स्वदेशमै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।‘नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देशन गर्दछु,’ प्रधानमन्त्री शाहले भने ।
अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण निकै खर्चिलो हुने भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्नुपर्ने माग व्यवसायीहरूले गरेका थिए । अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि लाग्ने उच्च लागतका कारण व्यवसायीलाई दिइँदै आएको ७५ प्रतिशतसम्मको अनुदान बन्द भएकाले त्यसलाई पुनः सञ्चालन गर्न पनि उनीहरूले माग गरेका छन् ।उक्त मागप्रति प्रधानमन्त्री शाह सकारात्मक रहेको उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताए । प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान तथा आवश्यक सहयोग उपलब्ध गराउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
त्यस्तै, प्राङ्गारिक मल उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा उपलब्ध गराउने व्यवसायीको मागप्रति पनि सरकार सकारात्मक रहेको प्रधानमन्त्री शाहले बताए ।
अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिँदै आएको अनुदान दुई वर्षदेखि रोकिएको विषयमा कानुनी रूपमा समाधान खोज्न सम्बन्धित मन्त्रालयले कार्यविधि निर्माण गरिरहेको उनले जानकारी दिए ।छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टी–इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी–फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी थिए ।