काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री, सचिव तथा सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन जनप्रतिनिधि र कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।सर्लाहीको बागमती नगरपालिकास्थित बागमती फनपार्क एन्ड रिसोर्ट आयोजना (दोस्रो चरण) निर्माणमा अनियमितता भएको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।आयोगका अनुसार दोस्रो चरणको ठेक्का प्रक्रिया मिलेमतोमा अघि बढाइएको थियो । प्रतिस्पर्धा सीमित हुनेगरी जटिल मूल्याङ्कन मापदण्ड बनाइएको तथा आवश्यक अध्ययन र जोखिम विश्लेषणबिनै नयाँ विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको आरोप आयोगले लगाएको छ ।
त्यस्तै, निर्माण व्यवसायीलाई अनुचित लाभ पुग्नेगरी सार्वजनिक खरिद प्रक्रिया सञ्चालन गरिएको, निर्माण व्यवसायीलाई अनुकूल हुनेगरी बोलपत्र मूल्याङ्कन मापदण्ड तयार गरिएको तथा झुटा र फर्जी कागजात पेस गरी ठेक्का प्राप्त गरेको आयोगको आरोप छ ।आयोगले मधेस प्रदेश सरकारका तत्कालीन मन्त्री शैलेन्द्रप्रसाद साह र तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ३५ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।यस्तै, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान र प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरुद्ध ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।त्यसैगरी, मधेस प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपानेविरुद्ध २० करोड रुपैयाँ तथा बिकोई धुलिखेल जेभी र सो जेभीका आधिकारिक प्रतिनिधि युवराज पोखरेलविरुद्ध ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।