काठमाडौँ, आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आवमा नेपालको कुल वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।अघिल्लो आवमा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ रहेको थियो। व्यापारको आकार बढेसँगै व्यापार घाटासमेत १६ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ। गत आवमा व्यापार घाटा १७ खर्ब ८१ अर्ब आठ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा १५ खर्ब २७ अर्ब नौ करोड रुपैयाँ थियो।
विभागका अनुसार गत आवमा आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा नेपालले १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको थियो।त्यस्तै, निर्यात १३ दशमलव ८१ प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा नेपालबाट दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा अघिल्लो आवको ८६ दशमलव ६९ प्रतिशतबाट बढेर गत आवमा ८६ दशमलव ९३ प्रतिशत पुगेको छ। निर्यातको हिस्सा भने १३ दशमलव ३१ प्रतिशतबाट घटेर १३ दशमलव शून्य सात प्रतिशतमा सीमित भएको छ।
डिजेल आयातमा सबैभन्दा अगाडि
नेपालले गत आवमा सबैभन्दा बढी डिजेल आयात गरेको छ। विभागका अनुसार एक खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ।त्यस्तै, एक खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ। यसैगरी ७७ अर्ब २६ करोड रुपैयाँको पेट्रोल, ६० अर्ब २८ करोड रुपैयाँको एलपी ग्यास, ५८ अर्ब ५२ करोड रुपैयाँको अर्धप्रशोधित फलाम तथा ४८ अर्ब ६९ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन्।
भटमासको तेल निर्यातमा अग्रस्थानमा
नेपालबाट गत आवमा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ। विभागका अनुसार एक खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको हो।
त्यस्तै, १२ अर्ब ६४ करोड रुपैयाँको अलैँची, १० अर्ब ३८ करोड रुपैयाँको ऊनीको गलैँचा, आठ अर्ब ९४ करोड रुपैयाँको सूर्यमुखी तेल तथा सात अर्ब १४ करोड रुपैयाँ बराबरको जुटका काँचो कपडा निर्यात भएको छ।
भारतसँग ९ खर्ब ५१ अर्बभन्दा बढी व्यापार घाटा
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग व्यापार घाटा उच्च रहेको छ। गत आवमा भारतबाट १२ खर्ब १० अर्ब ६० करोड रुपैयाँ बराबरका वस्तु आयात गर्दा नेपालले दुई खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ।यसअनुसार भारतसँग नेपालको व्यापार घाटा नौ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रहेको छ।
त्यस्तै, चीनबाट चार खर्ब २५ अर्ब २४ करोड रुपैयाँ बराबरका वस्तु आयात गर्दा नेपालले एक अर्ब ८९ करोड रुपैयाँ बराबरका वस्तु मात्रै निर्यात गरेको छ। चीनसँग नेपालको व्यापार घाटा चार खर्ब २३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।
आयात र निर्यातमा वीरगञ्ज नाका अगाडि
गत आवमा सबैभन्दा बढी आयात वीरगञ्ज नाकाबाट भएको छ। वीरगञ्ज नाकाबाट नौ खर्ब ८६ अर्ब ४३ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्, जुन कुल आयातको ४७ दशमलव शून्य पाँच प्रतिशत हो।भैरहवा नाकाबाट तीन खर्ब चार अर्ब १७ करोड (१४ दशमलव ५१ प्रतिशत), विराटनगर नाकाबाट दुई खर्ब ४१ अर्ब ९६ करोड (११ दशमलव ५४ प्रतिशत) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई खर्ब तीन अर्ब ५१ करोड रुपैयाँ (नौ दशमलव ७१ प्रतिशत) बराबरका वस्तु आयात भएका छन्।
निर्याततर्फ पनि वीरगञ्ज नाका नै अग्रस्थानमा रहेको छ। उक्त नाकाबाट एक खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्, जुन कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत हो।त्यस्तै, विराटनगर नाकाबाट ८८ अर्ब ७२ करोड (२८ दशमलव १४ प्रतिशत) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ अर्ब ९४ करोड रुपैयाँ (१२ दशमलव शून्य तीन प्रतिशत) बराबरका वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।