काठमाडौँ, परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक साझेदारी विस्तारमा मानार्थ वाणिज्यदूतहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।नेपाल र सम्बन्धित मुलुकबीचको मित्रता तथा आर्थिक सम्बन्ध सुदृढ बनाउन मानार्थ वाणिज्यदूतहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले विशेषगरी आर्थिक तथा व्यापारिक सम्बन्ध प्रवर्द्धनमा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे।
काठमाडौँमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकसँग नेपालको सम्बन्ध विस्तारमा मानार्थ वाणिज्यदूतहरूले महत्त्वपूर्ण सेतुको भूमिका निर्वाह गर्दै आएको मन्त्री खनालले बताए। उनले जनस्तर, व्यापार, संस्कृति तथा संस्थागत सम्बन्ध विस्तारमा उनीहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।मानार्थ वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउँदै मन्त्री खनालले विद्यमान नियम, सुविधा तथा कार्यप्रणालीको समयानुकूल समीक्षा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र प्रचलनअनुसार सुधार गर्ने पहल गरिने जानकारी दिए।नेपालको समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्दै उनले पछिल्लो राजनीतिक परिवर्तनले राजनीतिक स्थायित्व, नीतिगत निरन्तरता तथा पूर्वानुमेयताका आधार निर्माण गरेको दाबी गरे। वर्तमान सरकार सुशासन र समावेशी आर्थिक विकासप्रति प्रतिबद्ध रहेको बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
मन्त्री खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितको प्रवर्द्धनसँगै आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, नवप्रवर्तन प्रवर्द्धन तथा नागरिकका लागि अवसर सिर्जनामा केन्द्रित हुने बताए।
रणनीतिक साझेदारी विस्तार, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, बजार पहुँच विस्तार गर्ने, प्रविधि साझेदारी प्रवर्द्धन गर्ने तथा पर्यटन र दिगो विकासलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको उनले जानकारी दिए।आर्थिक कूटनीतिको सफल कार्यान्वयनमा मानार्थ वाणिज्यदूतहरूको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्दै मन्त्री खनालले उनीहरूलाई आफ्नो व्यावसायिक सञ्जाल, स्थानीय बजारसम्बन्धी ज्ञान तथा सार्वजनिक र निजी क्षेत्रसँगको सम्बन्धमार्फत व्यापार, लगानी, पर्यटन, शिक्षा तथा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न आग्रह गरे।परम्परागत सम्बन्धलाई केवल औपचारिकतामा सीमित नराखी ठोस र मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले मानार्थ वाणिज्यदूतहरूका लागि तीन प्राथमिकता अघि सारे।
उनका अनुसार प्रत्येक मानार्थ महावाणिज्यदूतले आफ्नो जिम्मेवारीअन्तर्गतको मुलुकका लागि पर्यटन, प्रविधि हस्तान्तरण, प्रत्यक्ष वैदेशिक लगानी, नवीकरणीय ऊर्जा तथा व्यापार सहजीकरणलगायतका क्षेत्रमा केन्द्रित देशविशिष्ट रणनीतिक कार्ययोजना तयार गर्नुपर्नेछ।त्यस्तै, व्यापार तथा लगानी प्रवर्द्धनका लागि नियमित रूपमा व्यवसायदेखि व्यवसाय (बी–टु–बी) कार्यक्रम सञ्चालन गर्न पनि उनले आग्रह गरे।कन्सुलर सेवालाई नागरिकमैत्री, सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले सार्वजनिक सेवकका रूपमा नागरिकका अपेक्षाप्रति संवेदनशील हुनुपर्ने बताए। गुणस्तरीय सेवा प्रवाहले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उनको भनाइ थियो।
उनले शिक्षा, संस्कृति तथा युवाबीचको आदानप्रदान विस्तार गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मानार्थ वाणिज्यदूतहरूलाई आग्रह गरे।विदेशस्थित नेपाली नियोग, विदेशमा रहेका नेपाली मानार्थ वाणिज्यदूत, नेपालका लागि मान्यता प्राप्त विदेशी नियोग तथा काठमाडौँस्थित विदेशी मानार्थ वाणिज्यदूतहरूले निजी क्षेत्रबीचको सहकार्य विस्तार गरी पारस्परिक लाभदायी आर्थिक साझेदारीलाई थप सशक्त बनाउन सक्ने विश्वास पनि उनले व्यक्त गरे।मन्त्री खनालले अन्तर्राष्ट्रिय मित्रता, आर्थिक सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धतालाई थप बलियो बनाउन आग्रह गर्दै मानार्थ वाणिज्यदूतहरूले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।साथै, उनले मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपालको आर्थिक कूटनीति, व्यापारिक सम्बन्ध तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउन संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।