काठमाडौं, नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन आएको छ । रसुवा बाढीले अवरुद्ध बनाएको सेवालाई टेलिकमले पुनः सुचारु गरेको हो ।
टेलिकमका अनुसार आइतबार बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरू सञ्चालनमा आएका छन् । टेलिकमले आइतबार रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरू सेवा संचालनमा ल्याएको हो । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटमा सेवा सुचारु गरेको छ । रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो गाउँपालिका वडा नम्बर ५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । यस्तै छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानहरू वेत्रावती, काउली, त्रिशूली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका छन् । जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानहरू कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन् । त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम रहेका छन् । चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट बिदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ । विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन प्राविधिकहरू निरन्तर खटिइरहेको टेलिकमले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा निरन्तर निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि आइतबारसम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय व्यवस्था गरिएको हो । बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा आवश्यकताअनुसार उपभोग गर्न कम्पनीले आग्रह गरेको छ । विपद्को यस अवस्थामा टेलिकमको सेवा प्रयोगमार्फत सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।