काठमाडौँ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चारमाध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गनुपर्ने बताएकी छिन् ।
आजदेखि काठमाडौँमा सुरु भएको ‘तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन(२०२६’ को उद्घाटनसत्रमा उनले आमाले सिकाएका भाषामार्फत राज्यले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न तथा राज्य र जनताबीचको दुरी कम गर्न पत्रकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने राससलाई बताइन् ।
मन्त्री गौतमले भातृभाषालाई घर, विद्यालय र समुदायमा बोलेर मात्रै नपुग्ने भएकाले पत्रकारिताका माध्यमबाट मातृभाषा बोलिनु आवश्यक हुने बताउँदै मन्त्री गौतमले लेखिएमा भाषालाई जीवन्त राख्न सकिने धारणा राखिन् । राज्यका तर्फबाट मातृभाषाको संरक्षण र पत्रकारिताको विकासमा सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले के–कस्ता काम राज्यबाट गरिनुपर्ने सोसम्बन्धी आवश्यक सुझाव दिन सरोकार भएकालाई आग्रह गरिन् ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले आदिवासी जनजातिका विषयमा राज्य संवेदनशील र गम्भीर हुनुपर्नेमा जोड दिँदै सबै खाले अधिकारलाई स्थापित गर्न सामूहिकता जरुरी पर्ने बताए । नेपाल कम्युनिष्ठ पार्टी (एमाले) का सांसद क्षितिज थेबेले नेपाल लामो समयसम्म अल्पविकसित मुलुकको परिचयमा रहनुमा राज्यले आदिवासी जनजाति र सीमान्तकृत समुदायलाई उचित सम्बोधन गर्न नसक्नु प्रमुख कारण रहेको जिकिर गरे ।
त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिताका प्रमुख प्राडा कुन्दन अर्यालले नेपालको सांस्कृतिक विविधतालाई पत्रकारिताले उच्च महत्व दिँदै आएको भन्दै पत्रकारिता मुलुकको हरेक परिवर्तनको साक्षी रहेको उल्लेख गरे ।
काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमख डा. निर्मलमणि अधिकारीले पहिचानको विषयलाई कसरी लिने भन्नेमा पश्चिमामुलुक र नेपालको संस्कृतिमा भिन्नता रहेको बताउँदै सबै भाषा र जातीले सँगै कसरी बाँच्ने भन्ने जीवन्त पद्धतिलाई बढाउनुपर्ने जनाए ।
‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा ‘तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ सुरू भएको छ । नेपाल आदवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा भएको त्रिदिवसीय सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी गैह्रसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिलगायत सहभागी छन् ।
फोनिजका महासचिव समीर बलामीका अनुसार सम्मेलनअन्तर्गत ‘आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान सन्दर्भ र वनसँगको सम्बन्ध’, ‘सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिता र निजी सञ्चारमाध्यमको अवस्था’, ‘मातृभाषा पत्रकारिता, जलवायु परिर्वतन, वन व्यवस्थापन, राज्यका नीति, अभ्यास र आदिवासी समुदाय’ लगायत सत्रहरूमा विषय विज्ञ र पत्रकारबीच छलफल हुनेछ ।
सम्मेलनमा स्वदेशका करिब ३०० र भारत, बङ्गलादेशलगायत मुलुकका ३५ पत्रकार तथा भर्चुअल रूपमा गरेर २७ मुलुकका पत्रकारहरू सहभागी भएका नेवाः पत्रकार दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।