काठमाडौं, आर्काइभ नेपाल र युनेस्कोले शताब्दीयौँ पुराना नेवा हस्तलिखित ग्रन्थहरूको डिजिटलाइजेसन गरेको छ । आर्काइभ नेपालले युनेस्कोसँगको साझेदारी तथा जापान सरकारको सहयोगमा युनेस्कोको ‘मेमोरी अफ द वर्ल्ड’ ढाँचाअन्तर्गत २०० देखि आठ सय वर्ष पुराना ३० भन्दा बढी दुर्लभ र लोपोन्मुख हस्तलिखित ग्रन्थहरू (पाण्डुलिपि)को डिजिटलाइजेसन गरेको हो ।
आर्काइभ नेपालले ‘विगतको संरक्षण, भविष्यको सशक्तीकरणः डिजिटल युगमा हस्तलिखित ग्रन्थको संरक्षण’ नामक अभियानअन्तर्गत लोपोन्मुख हस्तलिखित ग्रन्थहरू (पाण्डुलिपि)को डिजिटलाइजेसन गरेको जनाएको छ । नोभेम्बर २०२५ देखि अगस्ट २०२६ सम्म सञ्चालन गरिएको थियो । यस पहलमा ५० भन्दा बढी बहु–पुस्तात्मक स्वयंसेवकहरू परिचालन गरिएको जनाइएको छ । अभियानमा सहभागीहरुले पाटनका निजी संरक्षक संकलनहरू र सामुदायिक मन्दिरहरूलगायत काठमाडौं उपत्यकाका चार स्थानहरूमा रहेका हस्तलिखित ग्रन्थहरूलाई विकिसोर्समा खुला–पहुँच र मेसिनले पढ्न सक्ने डिजिटल अभिलेखमा रूपान्तरण गरेका थिए ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले हस्तलिखित ग्रन्थहरूको संरक्षण गर्नु भनेको त्यसमा के लेखिएको थियो भन्ने कुरा जोगाउनु मात्र नभएको बताइन् । ‘त्यसमा लेखिएका ज्ञान प्राप्त गर्नु पनि हो । काठमाडौं महानगरपालिकाको रूपमा हामीले सधैँ आफ्नो विगतको संरक्षण, प्रवद्र्धन र भावी पुस्तालाई हस्तान्तरण गर्ने काम गर्दै आएका छौँ’, उनले भनिन् ।
अभियानको समापन कार्यक्रममा हस्तलिखित ग्रन्थको प्रदर्शनी, प्रमुख सरोकारवालाहरूबीच प्यानल छलफल, र प्रत्यक्ष ट्रान्सक्रिप्शन (प्रतिलेखन) प्रदर्शनमार्फत परियोजना सार्वजनिक गरिएको थियो । सहभागीहरूले रञ्जना, भुजिंमोल र प्रचलित लिपिमा लेखिएका मूल ग्रन्थहरूलाई नजिकबाट अवलोकन गर्ने दुर्लभ अवसर पाएका थिए, जसले शताब्दीयौँ पुरानो नेवा संस्कृति र इतिहाससँग प्रत्यक्ष र भावनात्मक सम्बन्ध जोडेको थियो ।