काठमाडौं, नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच चितवन इनर्जीद्वारा प्रवर्द्धित लोवर रूलेखोला जलविद्युत् आयोजना (४.७५ मेगावाट, प्रस्तावित ६.१५ मेगावाट)को निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आयोजनाको कुल परियोजना लागतमा कर्जा–स्वपुँजी अनुपात ७०ः३० कायम रहने गरी नेपाल बैंक लिमिटेडले आवश्यक वित्तीय व्यवस्थापन गर्ने भएको छ ।
सम्झौतामा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका तर्फबाट सञ्चालक गोपाल प्रसाद निरौलाले हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले चितवन इनर्जी लिमिटेडलाई वित्तीय सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै आयोजनाको सफल निर्माण तथा सञ्चालनका लागि शुभकामना व्यक्त गर्नेछन् । उनले ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्दै राष्ट्रिय विकासमा बैंकको योगदानलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनेछन् ।
त्यसैगरी, चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निरौलाले आयोजनाका लागि वित्तीय साझेदार बनेको नेपाल बैंकप्रति आभार व्यक्त गर्दै बैंकको सहयोगले आयोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नेछन् । उनले आयोजना निर्धारित समयमै सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने प्रतिबद्धतासमेत जनाउनेछन् । उक्त कर्जा सम्झौतासँगै नेपाल बैंक लिमिटेडले ऊर्जा क्षेत्रमा आफ्नो लगानीलाई थप विस्तार गर्दै जलविद्युत् विकासमा निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाएको छ । यस सम्झौताले लोवर रूलेखोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ ।