काठमाडौं, बैंकिङ क्षेत्र निक्षेप रकम बढेपनि कर्जा प्रवाह बढ्न नसक्दा अधिक तरलताको समस्याले पिरोलिए पनि खुद मुनाफामा भने यसको असर न्यून देखिएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा एकाधबाहेक सबै बैंकहरूको खुद मुनाफा बढ्नुले पनि यस्तो असर कम देखिएको हो ।
सम्बन्धित बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा बैंकको कुल खुद मुनाफा ६९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै ३१ दशमलव ९५ अर्थात १६ अर्ब ९० करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा यी बैंकहरूले कुल ५२ अर्ब ८८ करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका मध्ये सबैभन्दा ठूलो वृद्धि कुमारी बैंकको खुद मुनाफामा भएको छ । यो बैंकले अघिल्लो आवमा एक अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेकोमा आव २०८२/०८३ मा यस्तो नाफा झण्डै तीन सय प्रतिशतले बढेर सात अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । सो अनुसार पछिल्लो एक बर्षमा कुमारीले पाँच अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा बढाउन सफल भएको छ ।
आव २०८२/०८३ सबैभन्दा बढी खुद मुनाफा कमाउनेमा भने नबिल बैंक पहिलो स्थानमा परेको छ । नबिलले यस अवधिमा सात अर्ब ९० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा पाँच अर्ब ९२ करोड रुपैयाँ रहेकोे थियो । सोअनुसार आव २०८२/०८३ मा नबिलको नाफा ३३ दशमलव ५० प्रतिशतले बढेको छ । ग्लोवल आईएमई बैंक भने सबैभन्दा बढी नाफा कमाउने बैंकहरूको सूचीमा तेस्रो स्थानमा परेको छ । यो बैंकले आव २०८२/०८३ मा छ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २२ दशमलव ६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा ग्लोवलको यस्तो नाफा पाँच अर्ब सात करोड रुपैयाँ रहेको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०८२/०८३ एभरेष्ट बैंकले पनि पाँच अर्ब छ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा चार दशमलव ७५ प्रतिशतले बढी हो । अघिल्लो आवमा एभरेष्टको यस्तो नाफा चार अर्ब ८३ करोड रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि आव २०८२/०८३ मा चार अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६० दशमलव ६८ प्रतिशले बढी हो । अघिल्लो आवमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । सरकारी स्वामित्व कै नेपाल बैंकले पनि पछिल्लो अवधिमा चार अर्ब ५० करोड एक लाख ९९ हजार दुई सय ७३ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३१ दशमलव ५० प्रतिशतले बढी हो । अघिल्लो आवमा नेपाल बैंकको यस्तो नाफा तीन अर्ब सात करोड ८० लाख ३० हजार नौ सय १९ रुपैयाँ रहेको थियो । प्राइम कमर्सियल बैंकले पनि आव २०८२/०८३ मा कुल चार अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
यो नाफा अघिल्लो आवको तुलनामा २८ दशमलव ४८ प्रतिशतले बढी हो । अघिल्लो आवमा प्राइमको यस्तो नाफा तीन अर्ब २० करोड सात लाख रुपैयाँ रहेको थियो । एनएमबी बैंकले पनि आव २०८२/०८३ मा कुल चार अर्ब एक करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४० दशमलव ६० प्रतिशतले बढी हो । अघिल्लो आवमा एनएमबीको यस्तो नाफा दुई अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । सानिमा बैंकले पनि आव २०८२/०८३ तीन अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३८ प्रतिशतले बढी हो । अघिल्लो आवमा सानिमाको यस्तो नाफा दुई अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । सिद्धार्थ बैंकले पनि आव २०८२/०८३ मा तीन अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा चार दशमलव ५४ प्रतिशतले बढी हो । अघिल्लो आवमा सिद्धार्थको यस्तो नाफा तीन अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार लक्ष्मी सनराइज बैंकले पनि पछिल्लो अवधिमा तीन अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २३ प्रतिशतले कम हो । अघिल्लो आवको लक्ष्मी सनराईजको यस्तो नाफा चार अर्ब छ करोड रुपैयाँ रहेको थियो । स्टान्डर्ड चार्टर्ड बैंकले पनि पछिल्लो अवधिमा दुई अर्ब ८५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा पाँच प्रतिशतले कम हो । अघिल्लो आवमा यो बैंकको यस्तो नाफा तीन अर्ब एक करोड रुपैयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि पछिल्लो अवधिमा दुई अर्ब ७४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३७ प्रतिशतले कम हो ।
अघिल्लो आवमा नेपाल इन्भेष्टमेन्टको यस्तो नाफा चार अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । माछापुच्छ्रे बैंकले पनि पछिल्लो अवधिमा दुई अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १२ दशमलव ३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा माछापुच्छ्रेको यस्तो नाफा एक अर्ब ८८ करोड ३६ लाख रुपैयाँ रहेको थियो । यसैगरी नेपाल एसबिआई बैंकको खुद मुनाफा पनि पछिल्लो अवधिमा बढेको छ । बैंकले आर्थिक वर्ष २०८२/०८३ मा दुई अर्ब चार करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १२ दशमलव ८९ प्रतिशतले बढी हो । अघिल्लो एसबिआईको यस्तो नाफा एक अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार आव २०८२/०८३ मा कृषि बिकास बैंकको खुद मुनाफा भने घटेको छ । बैंकले आव २०८२/०८३ मा दुई अर्ब ६३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २९ दशमलव ५१ प्रतिशतले कम हो । अघिल्लो आवमा कृषि विकास बैंकको यस्तो नाफा तीन अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । हिमालयन बैंकले पनि आव २०८२/०८३ मा कुल एक अर्ब ४८ करोड तीन लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा एक हजार ४१ प्रतिशतले बढी हो । अघिल्लो आवमा हिमालयन बैंकको यस्तो नाफा १२ करोड ९७ लाख रुपैयाँ रहेको छ । आव २०८२/०८३ मा प्रभु बैंकले भने खुद नोक्सानी बेहोरेको छ । एनआईस एसिया बैंकले भने आव २०८२/०८३ मा १८ करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा कमाएको छ । गत आवमा एनआईसीको यस्तो नाफा तीन अर्ब ८७ करोड रुपैयाँँले ऋणात्मक रहेको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार पछिल्लो अवधिमा बैंकले २४ कारेड १२ लाख ४३ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवमा भने प्रभु बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।