काठमाडौं, नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिक जनशक्ति विकासमा जोड दिन थालिएको छ । नेपाल अटो मेकानिक व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित साईनरे मोटर्स एसआरएमको उत्पादन कारखानाको अवलोकन गरेका छन् ।
नेपालमा एसआरएम तथा जयलङका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सको पहल तथा एसआरएमको सहयोगमा महासंघका प्रतिनिधिले हालै सो कारखानाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा नेपाली प्राविधिकहरूले सवारीसाधन उत्पादन तथा एसेम्बली प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण प्रक्रिया र विद्युतीय सवारीसाधनमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए । उनीहरूले ईभी उत्पादन तथा मर्मतसम्भारसँग सम्बन्धित विषयमा जानकारीसमेत आदानप्रदान गरेका थिए । भ्रमणले नेपाली अटो मेकानिकलाई सामान्य वर्कसपमा प्राप्त हुने व्यावहारिक ज्ञानभन्दा बाहिर गएर विद्युतीय सवारीसाधनको उत्पादन, इन्जिनियरिङ, परीक्षण र गुणस्तर नियन्त्रण प्रक्रियालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको भिजी मोटर्सले जनाएको छ ।
नेपालमा भिजी मोटर्सले विद्युतीय सवारीसाधन बिक्रीसँगै प्राविधिक जनशक्ति विकासमा समेत काम गर्दै आएको जनाएको छ । भिजी मोटर्सका अनुसार ईभीसम्बन्धी प्राविधिक प्रशिक्षणको पहिलो चरण पूरा भइसकेको छ । अब दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ । दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान तथा प्रयोगदेखि सवारीसाधनको प्राविधिक मर्मतसम्मका विषय समेटिने बताइएको छ । यसअघि कम्पनीले नेपाल अटो मेकानिक महासंघका सदस्यहरूलाई लक्षित गरी ईभीको डायग्नोसिस, सर्भिसिङ तथा मर्मतसम्बन्धी व्यावहारिक प्रशिक्षण सञ्चालन गरेको थियो । चीनको कारखाना भ्रमणले उक्त व्यावहारिक ज्ञानलाई ईभी उत्पादन र प्रविधिको वास्तविक प्रक्रियासँग जोड्ने अवसर दिएको कम्पनीको भनाइ छ ।